जनकपुर - धनुषाको कमला नगरपालिका वडा नं. ६ मा गत शनिबार १९ गत्ते भएको मस्जिदमा तोडफोड एवं मुस्लिम धर्मको धार्मिक ग्रन्थमा आगजनी घटनामा आज सरोकारवलाहरुसँग छलफल भएको छ ।
जनकपुरधामस्थित जिल्ला प्रशासन कार्यालय धनुषामा प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइँटेलले मुस्लिम र हिन्दु समुदायका अगुवाहरूसँग छलफल गरेका छन् । छलफल पश्चात् सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रमुख जिल्ला अधिकारी लुइँटेलले कमला नगरपालिकाका घटेको घटनामा संलग्नहरू कानुन बमोजिम सजाय हुने जानकारी दिए ।
उनले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता, एकताको भावनामा कहीँ कसैबाट कानुन उलङ्घन हुने, द्वव्श फैलाउने, एक अर्काप्रति आक्षेप लगाउने जस्ता कार्यहरू गर्न नहुने बताए । यस्ता क्रियाकलाप गर्ने जुनसुकै पक्षका व्यक्तिलाई कानुनी दायरामा लिएर मुलुकी फौजदारी संहिता बमोजिम कारबाही हुने उनले प्रस्ट पारे ।
प्रमुख जिल्ला अधिकारी लुइँटेलले प्रदेशभरमा सद्भाव कायम गर्न आक्रोशित समुदायलाई आग्रह गरे । उनले अहिले सम्म उक्त घटनामा ३ जना पक्राउ परेको र अन्य केही व्यक्ति फरार रहेकोले उनीहरूको खोजी कार्य भइरहेको जानकारी दिए ।
छलफलमा सहभागी धनुषाका एसपी रुगम बहादुर कुँवरले यस्ता घटनालाई दीर्घकालीन रूपमा रोक लगाउन सरकारले सामाजिक सञ्जाललाई गम्भीर भएर अनुगमन र नियन्त्रण गर्नु पर्ने धारणा राखे । उनले सामाजिक सञ्जाललाई नियमन गर्न नसक्नुको कारण नै कमला नगरपालिकाको घटना घट्नुको मुख्य कारण रहेको बताए ।
गत शनिबार धनुषाको कमला नगरपालिका ६ का मुस्लिम समुदायका केही युवाहरूले टिकटकमा हिन्दु समुदायलाई लक्षित गर्दै भिडियो बनाएर पोस्ट गरेका थिए । सोही आक्रोशमा हिन्दु समुदायका केही युवाहरूले सोही वडामा रहेको मस्जिदमा तोडफोड गर्नुका साथै धार्मिक ग्रन्थ कुरानलगायतका किताबहरू जलाई दिएका थिए । सो पश्चात् उक्त क्षेत्रमा तनाव सृजना भएको थियो । धनुषा प्रहरीले टिकटकमा भिडियो बनाएर अपलोड गर्ने दुई जना र मस्जिदमा तोडफोड गर्ने एक जनालाई अहिलेसम्म पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको छ ।

