Harsamaya

दिपक कायस्थ, विदुर २ का वडा अध्यक्ष हुन् । उनी राजनितीमा आउनु भन्दा पहिला सामाजिक कार्यमा सक्रिय थिए । उद्योग वाणिज्य संघ नुवाकोटको महासचिवसमेत भइसकेका उनी नेकपा एमालेका नगर अध्यक्षसमेत भए । दुई पटक एमालेको जिल्ला कमिटी सचिवालय सदस्य भएका कायस्थ तेस्रो पटकपनि एमालेको जिल्ला कमिटीको सचिवालय सदस्य छन् । उनी गत स्थानीय तह निर्वाचनमा , विदुर २ मा एमालेबाट वडाध्यक्षको उम्मेदवार भए र जिते। उनै कायस्थसँग वडाको वर्तमान अवस्था, वडामा भएका विकासका गतिविधि, वडाको शिक्षा, कृषि र पूर्वाधारको अवस्थाबारे  हर समयले गरेको कुराकानी । 

विदुर नगरपालिकाको २ नम्बर वडाको भौगोलिक, सांस्कृतिक र ऐतिहासिक अवस्थाबारे बताइदिनुस्न ?
विदुर नगरपालिकाको महत्वपूर्ण, सांस्कृतिक धरोहर नै २ नम्बर वडामा पर्छ। यो वडा पृथ्वी नारायण शाहले नेपाल एकीकरण गर्ने क्रममा नुवाकोट दरबारलाई पहिलो राजधानी बनाएर नेपालको एकीकरणको सुरुवात गरेको ठाउँ हो। काठमाडौँमा जस्तै टुँडिखेल, भैरवी, इन्द्रचोक, जस्तै ठाउँहरु यहाँ पनि छन् । मुख्यत भैरवी मन्दिर एकदम महत्वपूर्ण छ । सात तले दरबार, रंगमहल, तलेजु भगवती , सरस्वती भगवती, भीमसेन थान, टुँडिखेल, कालिका मालिका, सरस्वती थान र स्वयम्भु चैत्य लगायत धेरै महत्व राख्ने ठाउँहरु यहाँ छन् । 

तपाईं निर्वाचित भएर आएपछि वडामा के के काम गर्नुभयो ?
म वडाध्यक्ष भएर आएपछि धेरै कामको सुरुवात भयो। केही काम समापन हुने अवस्थामा छन्। विदुरको बटारको नागटाडीमा ठूलो प्रादेशिक कवर्ड हल अन्तिम चरणमा छ। ३ करोड लागतमा बनेको ब्याडमिन्टन कवर्ड हल बागमती प्रदेशकै महत्वपूर्ण कवर्ड हल हो। त्यस्तै खानेपानीलाई पनि महत्वका साथ राखेका छौं । म वडाध्यक्ष भएर आउँदा नुवाकोट दरबार क्षेत्रमा खानेपानीको चरम अभाव थियो । हामीले एक घर एक धाराको अवधारणा ल्यायौं । सो अवधारणा अनुसार नगर र वडाको बजेटले मात्रै काम सम्भव हुने देखिएन । वसन्त मानन्धर बागमती प्रदेशको खानेपानी मन्त्री हुँदा प्रदेशबाट क्रमागत बजेट हाल्न लगाएर खानेपानीको काम सुरुवात गर्यौं । अहिलेसम्म लगभग ८० प्रतिशत बढी काम भइसकेको छ ।

त्यस्तै  तादी खोलाबाट लिफ्टिङ गरेर नुवाकोट दरबारको कालिकामा तीन वटा २ लाख लिटर अट्ने ट्यांकी बनाइसकेका छौं । गुरुङ गाउँमा ५० हजार लिटरको ट्याङ्की बनाएका छौं । तिरतिरे धारा तल तादी खोला नेर समवेल बनाएर सम्पूर्ण काम र पाइपलाइन बिछ्याउने काम भइसकेको छ। अब छिट्टै ४ इन्चको पाइपबाट पानी झारेर नुवाकोट दरबार क्षेत्रमा २ लाख लिटर पानी खुवाउने लक्ष्य छ । त्यसमा म पूर्ण रुपमा सफल हुन्छु जस्तो लाग्छ । मेरो मुख्य लक्ष्य नै नुवाकोट दरबार क्षेत्रमा खानेपानी पुर्याउने हो । त्यसलाई पूर्णरुपले यही कार्यकालमा सफल पार्न लागिरहेको छु । 

त्यस्तै सिप्लीघाटको खानेपानी पनि अवरुद्ध थियो अहिले सो खानेपानीलाई सफल बनायौं । द्वाचेको खानेपानी चाहीँ मेलम्ची खानेपानी जस्तै छ । त्यो आयोजना असफल भइरहेको छ । त्यसलाई सफल पार्न लागिरहेका छौं । द्व्वाचेको खानेपानी पनि २ लाख लिटर ट्याङ्कीमा राख्ने,  सिप्लीघाटको पानी पनि त्यहीँ राख्ने र तादी खोलाको पानी पनि त्यहीँ राखेर नुवाकोटमा पानीको समस्या समाधान गर्न लागि परेका छौं । 

Deepak-Kayastha--1767541352.jpg
 विदुर नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष दिपक कायस्थ। तस्वीर: हरसमय/Har Samaya

त्यसै गरी तल्लो बेल्ट विदुर, बट्टार र शेरालगायत ठाउँहरुमा पनि पानीको समस्या छ । यो विदुर खानीपानीले सहज गरिदिएको छ । खोलाबाट पानी ल्याएको भएर बर्खायाममा खानेपानी अवरुद्ध हुन्छ । त्यसलाई समाधान गर्न तादीबाट पानी तान्ने लक्ष्यका साथ  काम भइरहेको छ। एसियन डेभ्लप्मेन्ट बैंकको प्रोजेक्टबाट ११ करोड रुपैयाँमा त्यो समस्या पनि समाधानउन्मुख छ । बर्खायाममा अवरुद्ध भएको बेला पानी तानेर २ नम्बर तथा विदुर नगरपालिकाको ६ वटै वडालाई पानी को अभाव नहुने हिसाबमा हामी लागि रहेका छौं।

नगरपालिकामा मेयर कांग्रेसबाट निवाचित, उपमेयर माओवादीबाट निर्वाचित हुनुहुन्छ सहकार्य गर्न कति सहज भएको छ ?
हामी सबै विकास निर्माणका कम गर्ने नै भनेर आएका हुन्छौं । तर पनि केही कुरामा नमिलेको जस्तो हुदो रहेछ । आफूले सोचेको जस्तो आफूले गरेको जस्तो एउटै पार्टी नहुँदा केही कुरामा कन्फ्युजन हुदो रहेछ ।

वडामा मागेजति बजेट पाउनुभयो  ?
योजना धेरै छ, बजेट थोरै छ । योजना अनुसारको बजेट नपरेर धेरै गर्नुपर्ने काम गर्ने अवस्था छैन । तर भएको बजेटलाई सदुपयोग गरेर महत्वपूर्ण योजनालाई अगाडि बढाउने हो । एरिया अनुसार त्यसलाई विनियोजन गरेको छौं । २ नम्बर वडा भौगोलिक हिसाबले अफ्ठ्यारो वडा छ। नुवाकोट पहाडी जिल्ला हो भने विदुर अलि सम्म छ। विदुर, बट्टार, बाहुन डाँडा, शेरा, कपास खोरिया फरक फरक ठाउँमा काम गर्नु पर्ने भएकाले सिमित बजेटमा राम्रो गर्नुपर्छ भन्ने हिसाबले लागि रहेका छौं ।  

वडा र नागरिकको सम्बन्ध कस्तो छ ? विकास निर्माणका काममा जनसहभागिता कतिको छ ?
वडाअध्यक्ष भनेको घरको सरकार हो । जनताको जनगुनासो जहिले सुन्नुपर्छ । कसैको दुर्घटना या केही भयो, कसैको घरमा आगलागी भयो, कसैको घरमा चोरी भयो , कोहीको श्रीमान् श्रीमती झगडा भयो, त्यसको लागि पनि वडाअध्यक्षलाई सम्झिन्छन् । वडाध्यक्षले नाइ भन्नु हुँदैन । जुनसुकै अवस्थामा पनि उहाँहरुले सम्झिएको बेला उपस्थित हुन्छु नै ।

वडाध्यक्ष १० बजेबाट ५ बजेसम्म मात्र वडामा बस्ने होइन । बिहान ५ बजे देखि रातीको १०,११,१२ बजेसम्म सधैं ड्युटीमा हुन्छ । आफ्नो वडाका जनताहरुको समस्या समाधान गर्न सहयोग गर्नुपर्छ। सकेसम्म उहाँहरूको समस्यालाई समाधान गर्नुपर्छ । त्यो हिसाबले लागिरहेको छु । त्यसको मूल्यांकन जनताले नै गर्ने हो । जनताहरुको त्यही मूल्यांकन र जनसभागिता अनुसार २ नम्बर वडामा काम भैरहेको छ ।

नुवाकोट दरबार क्षेत्रका जनताहरु जागृत भएर आनन्दलाल श्रेष्ठको नेतृत्वमा सप्ताहव्यापी सरसफाई अभियानमा लागि रहनु भएको छ । कतै वनमा डढेँलो लाग्यो भने त्यसलाई नियन्त्रण गर्नका लागि पात पतिङ्गर सफा गरौं भनेर आव्हान गर्दा जनताहरु आएर साथ सहयोग गरिरहेका छन् । मन्दिर, बाटोघाटो बनाउने ठाउँमा सबैजना लागेर गरौ भन्दा आएर सहयोग गरिरहेका छन् । 

वडामा विपद व्यवस्थापनका योजना के कस्ता छन् ?
 नगरपालिकामा विपद व्यवस्थापन समिती भन्ने छ। त्यसले विपद परेको बेला आवश्यक पर्ने औजारहरु उपलब्ध गराउँछ। नगरपालिकामा र वडामा थोरै सामानहरु छ । नेपाली सेना, नेपाल प्रहरी अनि सशस्त्र प्रहरीहरुलाई आव्हान गर्छौं । उहाँहरु पनि आउनु हुन्छ । उहाँहरुलाई आवश्यक पर्दा पनि हामी गएका हुन्छौं । नुवाकोटको प्रसाशनसँग, सरकारी गैरसरकारी संघसंस्थासँग सम्बन्ध स्थापित गरेर अगाडि बढेका छौं । विपद परेको बेला सबै जना हातेमालो गरेर अगाडि बढ्छौ । 

वडामै रोजगारी दिलाउन केही पहल गर्नु भएको छ ?
वडाबाट धेरै सिपमुलक तालिमहरू राखेका छौं । बट्टारमा मकैको खोस्टाको फूल बनाउने तालिम राख्यौं । शेरामा साबुन-सरफ बनाउने तालिम राख्यौं । सफल महिला समूहका महिलाहरुलाई पञ्चे बाजा बजाउने तालिम दियौं । धेरैमध्ये त्यो सफल भएको छ । उहाँहरु आफैं बाजा बजाएर आम्दानी गर्नु हुन्छ । उहाँहरु नुवाकोटमा मात्र होइन काठमाडौँमासमेत पञ्चे बाजा बजाउन जानु हुन्छ । त्यसमा खुशी लाग्छ । कृषिमा पनि तालिम दिएका छौं ।  विद्यार्थीहरुको शैक्षिक गुणस्तर वृद्धिका लागि विभिन्न क्रियाकलापहरू स्कुलमा गरेका छौं ।  

Shree-Bhairabi-Secondary-School-1767541524.jpg
विदुर नगरपालिका वडा नम्बर २ स्थित श्री भैरवी माध्यमिक विद्यालय । तस्वीर: हरसमय/Har Samaya

आगामी वर्षको योजना के छ ?
चुनौती धेरै छन् । तर पनि काममा लागि रहेका छौं । २ नम्बर वडा पर्यटकीय क्षेत्र हो । नुवाकोट दरबार एरियालाई पर्यटकीय क्षेत्र घोषणा वडाबाट गरेका छौं । पर्यटकीय तथा धार्मिक-ऐतिहासिक क्षेत्र घोषणा पछि होटेलहरू बढ्ने छन् । पानीको अभावले नुवाकोट छाडेर जानेहरु फर्कनेछन् । नुवाकोट दरबार क्षेत्रलाई पर्यटकीय हवको रुपमा विकास गरेर नुवाकोटलाई नै विकासमा अगाडि लाने कोशिस गरेका छौं । त्यस्तैगरी तल्लो भेग शेरालाई कृषि हव घोषणा गरेका छौं । कृषिमा आधुनिकीकरण गरेर कृषिजन्य वस्तु उत्पादन गर्ने र त्यहाँको मान्छेलाई स्वरोजगार बनाएर आर्थिक उन्नति गर्ने सोचकासाथ लागेका छौं। त्यसका लागि सिचाई कुलोहरु बनेका छन् ।  शेरा फाटमा धेरै कृषिजन्य वस्तु उत्पादन गर्ने कोसिशमा लागेका छौं । बाहुन डाँडा कपास खोरियालाई बाख्रा पालन गर्ने क्षेत्र घोषणा गरेर बाख्रा पालनलाई प्रोत्साहित गरिरहेका छौं । बट्टार-विदुर सडक राजमार्ग एरिया छ यसलाई व्यापारिक थलो, व्यापारिक केन्द्रको रुपमा विकास गरेर लाने विषयमा कामहरू सुरु भएका छन् ।

वडा १ का अध्यक्षले शैक्षिक हव बनाउँछौं भन्नुभयो तपाईं वडा नम्बर २ लाई के बनाउन चाहनुहुन्छ ?
१ नम्बरका वडाध्यक्ष शैक्षिक हब बनाउन लागि रहनु भएको छ ।  सफल पनि भैरहनु भएको छ । त्यस्तै गरी म के भन्न चाहन्छु भने २ नम्बर वडालाई पर्यटकीय हव बनाउँछौं ।  किनभने नुवाकोट जिल्लाको मात्र होइन यो त नेपाल अधिराज्यकै महत्वपूर्ण ठाउँ नुवाकोट दरबार क्षेत्र, स्वयम्भू चैत्य यहीँ छ । त्यसैले २ नम्बर वडालाई म पूर्ण रुपले पर्यटकीय हव बनाउने कोसिसमा लागि रहेको छु । 

पर्यटन हवको पूर्वाधारका लागि के-कस्ता काम भएका छन् ? 
पर्यटकीय हव बनाउने भनेर जुन काम अगाडि बढायौं त्यसको परिणाम बिस्तारै देखिन थालेको छ । जस्तै स्वयम्भू चैत्य पूर्णनिर्माण हुँदैछ । सात तले नुवाकोट दरबार पूर्ननिर्माण हुने क्रममा छ । पर्यटकहरु वृद्धि भएर नुवाकोटमा प्राय होटेलहरु खाली छैनन् । शुक्रबार र शनिबार टुडिँखेल लगायत इन्द्रचोकमा मान्छेको भिड देखिन्छ। हिजो १-२ वटा होटेल थिए । अहिले होटेल बन्ने क्रम बढेको छ । हिजो चना र चिया बेचेर बस्ने साना होटेलहरू अहिले ठूलो होटेल बनाएर बसेका छन् । अब नुवाकोट पर्यटकीय हव बन्दैछ भनेर म खुशी छु ।  

Nuwakot-Durbar-1767541608.jpg
१० वर्ष अघि भूकम्पले क्षतिग्रस्त भएको नुवाकोटको सात तले दरबार अहिले पुनर्निर्माण भइरहेको छ। विदुर नगरपालिका–२ स्थित सो दरबार १ वर्ष देखि चिनियाँ सरकारको सहयोगमा पुनर्निर्माण भइरहेको छ । वि‌ सं १८१९ सालमा पृथ्वीनारायण शाहले ललितपुरबाट वास्तुकलाका नामी कालिगड झिकाएर यो दरबार निर्माण गरेका थिए । सुरुमा नौ तले रहेको यस दरबार १९९० सालको भुईँचालोले दुई तला भत्किएर सात तले भएको थियो । जिल्लाको मात्र नभएर नेपाल एकीकरण र इतिहासको परिचय बनेर उभिएको यो दरबार क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख आकर्षणको केन्द्र पनि हो । तस्वीर: हरसमय/Har Samaya

सम्पदा पूर्ननिर्माणमा देखिएका चुनौती के छन् ? 
नुवाकोटको सिद्ध पोखरीमा महादेव मन्दिर थियो त्यो एकदमै जीर्ण थियो । पुरातत्व विभागले पूर्ननिर्माण गरिदियो । त्यसै गरेर भीमसेन मन्दिर पूर्ननिर्माणका लागि पर्यटन मन्त्रालयमा अनुरोध गरेका थियौं ।  १७ लाखमा बनेको छ । त्यस्तै कालिका-मालिका जाने बाटो ट्रेकिंग रुट भनेर पर्यटन मन्त्रालयमा अनुरोध गरेका थियौं । त्यतिबेला पर्यटन मन्त्री शैलेन्द्र बज्रचार्या हुनुहुन्थ्यो । १७-१८ लाखको काम भएर ट्रेकिंग रुट बनेको छ । २ नम्वर वडाको ऐतिहासिक ठाउँहरु जस्तै बट्टारको रातमाटे डाँडा माथि एउटा गुम्बा छ त्यो गुम्बामा प्रदेश मन्त्रालयबाट बजेट विनियोजन गरेर वाल लगाउने काम भएको छ । बुद्धिष्ट धर्मावलम्बीहरुको अन्त्येष्टि गर्ने ठाउँ विदुरको त्रिशुली खोला माथि थियो । त्यहाँ ढल बन्ने भयो । त्यसपछि विदुरको माथि सार्वजनिक स्थानमा बुद्धिस्ट धर्मावलम्बीहरूका लागि अन्त्येष्टि गर्ने ठाउँ प्रदेशबाट बजेट विनियोजन गराएर बनाएका छौं । बाराहीमा शेरदाल गण बट्टारको  ब्यारेक आएपछि चलिरहेको बाटो अवरुद्ध भयो । जनताका घर जाने बाटो अवरुद्ध भएपछि संघमा गएर बजेट माघ्यौ । १ करोड चानचुन बजेटले अहिले बाराही मन्दिर निस्किने बाटो बनेको छ । त्यस्तै बाहुन डाँडा कपास खोरिया जाने बाटो हिजो सानो थियो अहिले ठूलो बनाएर स्तरोउन्नति गर्यौं । 

अन्त्यमा के भन्न चाहनुहुन्छ ? 
पर्यटकहरुलाई नुवाकोट आउँदा एकचोटी नुवाकोट दरबार क्षेत्र आइदिन अनुरोध गर्दछु। हिन्दुधर्मावलम्बीले महत्वपूर्ण भैरवी मन्दिरको दर्शन गर्न पाउनुहुन्छ । बुद्धिस्टहरूले स्वयम्भू महाचैत्यको दर्शन गर्न पाउनुहुन्छ । १७०० वर्ष पुरानो जीर्ण भएको भैरवी मन्दिर र स्वयम्भू महाचैत्य पूर्णनिर्माण भइसकेको छ। पृथ्वी नारायण शाहले नेपाल एकीकरण गर्ने बेलाको पहिलो राजधानी बनाएको सात तले दरबार लगायत रंगमहल, तलेजु भगवान पूर्णनिर्माण भइरहेको छ । पूर्णनिर्माण भैसकेपछि यसलाई देशकै महत्वपूर्ण स्थानको रुपमा अगाडि बढाउनुपर्छ । सबै पर्यटकलाई सात तले दरबारको निरिक्षण गरी के गर्न सकिन्छ सल्लाह सुझाव दिन अनुरोध गर्दछु ।  

Nuwakot-Bhairabi-Mandir-1757734476.jpg
नुवाकोटको विदुर नगरपालिका-२ मा रहेको भैरवी मन्दिर । जुन पृथ्वीनारायण शाहको शासनकालमा बनेको थियो ।तस्वीर: हर समय/Har Samaya
प्रकाशित मिति: सोमबार, पुस २१, २०८२  ०७:४०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update