लेनिन रञ्जित विदुर नगरपालिकाका लागि नौलो नाम होइन । उनी विदुर नगरपालिका वडा नम्बर १ का अध्यक्ष हुन् । देश संघीयतामा गएपछि विदुर नगरपालिकाको १, १० र ११ गरी तीन वटा वडालाई गाभेर अहिलेको वडा नम्बर १ बनाइएको हो । वडाध्यक्षमा उनको यो दोस्रो कार्यकाल हो। यो वडामा त्रिशुली बजार, ढुंगे, सिमुटार, बान्द्रे , बोगटीगाउँ र रिमालडाँडा पर्छ। ग्रामीण भेग र शहरी भेग दुईवटैको सम्मीश्रण हो यो वडा । रञ्जित पहिलो कार्यकाल वडाध्यक्ष भएर आउँदा यहाँ धेरै समस्याहरू थिए । खानेपानी, शिक्षा, स्वास्थ्य, सडक, ढल निकास लगायत । उनले ती समस्याहरूलाई पहिलो कार्यकालमा सक्दो पुरा गर्ने कोसिस गरे । केही ठूला योजनाहरू आज पर्यन्त चलिरहेका छन् । समृद्ध वडा निर्माण गर्न उनले चालेका प्रत्येक पाइलाहरूले त्रिशुली बजार र आसपासमा रंग ल्याएका छन् । सफा र सुन्दर वडा बनाउने उनको रहरहरू अझै फुल्न र फक्रन बाँकी नै छन् । तर उनी सधैं कर्मशील छन् । कर्म गरिरहेका छन् । कर्म गर्दै जाँदा उनले गाली र ताली दुवै पाए । तर, उनी वडावासीको जीवन सहज बनाउन सदैव लागिरहे । चिन्तन मनन गरिरहे । एउटा जनप्रतिनिधिबाट जनताले के आशा गर्छन् ? उनले के त्यो आशा पुरा गरे ? जनताको सेवक हुँदा के कस्ता सहज असहज अवस्था आए यसै सन्दर्भमा हर समयले उनै रञ्जितसँग गरेको कुराकानी ।
यो वडाको बारेमा बताइदिनुसन् ? तपाईंले दुई कार्यकालमा के के गर्नुभयो ?
पहिलो कार्यकालमा खानेपानी, बाटोघाटोलाई ध्यान दिएर काम गरेँ ।अब दोस्रो कार्यकालमा छु। दोस्रो कार्यकालमा जनताहरूलाई कसरी अगाडि बढाउन सकिन्छ ? के गर्यो भने वडालाई समृद्ध बनाउन सकिन्छ भनेर लागेको छु । १ नम्बर वडालाई ‘एजुकेसन हव’ बनाउँछु भनेर लाग्यौं । सिटिइभिटि अन्तर्गतका तालिम दिने स्कूल स्थापना गर्यौं । पढ्न इच्छा भएकाहरूलाई धेरै पैसा तिरेर काठमाडौं पढ्न नपरोस् र यहीँ उनीहरूले सुविधा पाउन् भनेर सिटिइभिटि अन्तर्गतको एनिमल साइन्स, प्राण साइन्स र होटल म्यानेजमेण्ट सञ्चालनमा ल्यायौं। अब फार्मेसी पनि सुरु गर्दैछौं । यसबाट धेरै जनता लाभान्वित भएका छन् ।
विदुर-१ मा धेरै पुरानो स्कुल छ त्रिभुवन त्रिशुली मावि। विगतमा यहाँ चार वटा जिल्लाका विद्यार्थीहरू पढ्थे । पछिल्लो चरणमा रसुवा, नुवाकोट र धादिङका विद्यार्थीहरू पढ्न आउँछन् । पहिला गोरखाबाट पनि पढ्न आउँथे । तिनीहरूलाई केन्द्रित गरेर स्कुल सञ्चालनमा छ । विदुरभित्रको सबैभन्दा ठूलो स्कूल भन्दा पनि हुन्छ । जसमा एक हजार ६८५ जना विद्यार्थी अध्ययनरत छन् । जहाँ शिक्षाका लागि चाहिने आवश्यक पूर्वाधार छ । यहाँ १२ कक्षासम्म पढाइ हुन्छ । साइन्स, कम्प्युटर साइन्स र यो वर्ष देखि होटल म्यानेजमेण्ट र ल को पनि पढाइ सुरु गर्दैछौं । शिक्षा र व्यवस्थापन त हुने भैहाल्यो । यसपालि विज्ञान प्रवर्द्धनको कार्यक्रममा नेपाल सरकारको ७८ वटा स्कूलमा त्रिभुवन त्रिशुली पनि छानियो । त्यसैले विज्ञान विषयमा पढाइ गर्न चाहने छात्रछात्राहरूले निशुल्क पढ्न पाउँछन् । छात्राहरूलाई छात्रावासको व्यवस्था छ । त्यस्तै यहीँ वडामा बहुमुखी कलेज छ । समग्रमा हेर्ने हो भने विदुर नगरपालिकाको १ नम्बर वडामा शिक्षाका लागि सम्पूर्ण कुरा छ । त्यसैले विदुर नगरपालिकाको १ नम्बर वडालाई हामीले ‘शैक्षिक हव’ बनाउने भनेर लागेका छौं ।

यहाँका ग्रामीण भूभागमा बाटो लगभग पुगिसेको छ । त्यसलाई स्तरोन्नति गर्ने कार्य गर्दैछौं । ग्रामीण भूभागमा खानेपानीको धेरै समस्या थियो । प्रत्येक टोल टोलमा खानेपानीको ट्यांकी बनाएर खानेपानी पुर्यायौं । त्यसलाई अझै सुदृढ गर्नका लागि त्रिशुली नदीबाट लिफ्ट गरेर पहिलो चरणमा सिमुटार भन्ने ठाउँमा पुर्याएका छौं । दोस्रो चरणमा त्यहाँबाट केउरेनी पुर्याएर वडामा सिँचाई र खानेपानीको व्यवस्थापन गर्दैछौं । त्रिशुली बजारको हकमा चाहिँ पानी पर्याप्त छ । तर, तीन महिना वर्खामा पिउन योग्य पानी हुँदैन । विदुर उपभोक्ता खानेपानीसँग समन्वय गरेर पहिलो चरमणमा एक लाइन विदुरमा खानेपानी पुर्याएका छौं । गदिया खोला किस्पाङ र मेघामको मुहानबाट पानी ल्याएर १, ९, ७ र ८ नम्बरलाई पानी खुवाउने हिसाबमा नगरपालिका लागेको छ । त्यही अन्तर्गत किस्पाङ र मेघाम गाउँपालिका पाइपलाइनको काम भइसकेको छ । अब विदुर नगरपालिका आइपुगेको छ । सम्भवत: यो दुई वर्षमा त्यो चरण पुरा भएपछि त्रिशुली बजारलाई पनि शुद्ध खानेपानीको कहिल्यै समस्या हुने छैन ।
त्रिशुली बजारमा सबै भन्दा ठूलो समस्या त्रिशुलीको पुलको थियो । पहिलो कार्याकालमा पुललाई कसरी ट्राफिक समस्या समाधान गर्ने र जीर्ण पुलको ठाउँमा नयाँ पुल बनाउने भनेर छलफल गर्यौं । पूर्व माननीय ज्यूहरूसँग पुल महाशाखामा गयौं र डीजीसावसँग कुरा गर्यौं । उहाँले हाम्रो कुरालाई सम्बोधन गरेर नयाँ पुलका लागि ८ करोड ४० लाख बजेट विनियोजन गर्दिनुभयो । अनि त्रिशुली बजारमा नयाँ पुल बन्यो । नयाँ पुलसँगै त्रिशुली बजारको ट्राफिक समस्या समाधान भएको छ ।
त्रिशुली बजारलाई सुरक्षित राख्न त्रिशुली नदी छेउमा करिडोर अवधारणाका साथ करिडोर, ढल र बाढी नियन्त्रण गर्नका लागि पर्खाल लगायौं । यो निरन्तर मेरो पहिलो कार्यकालदेखि गर्दै आइरहेको काम हो । अहिले पनि निरन्तर छ । जसका कारण गत वर्ष तीन दिन नेपालभर पानी परेर धेरै क्षति हुँदा त्रिशुली बजारमा केही भएन । यसै वर्ष चीनमा हिमताल फुटेर बाढी आउँदा पनि त्यही पर्खालका कारण त्रिशुली बजारलाई सुरक्षित राख्यो । जसले गर्दा हामीले गरेका कामले राम्रो रिजल्ट ल्याएको बुझेका छौं । करिडोरको अवधारणा अनुसार बनाइरहेको हुनाले यो वर्ष त्यो कामलाई पूर्णता दिनेछौं । आन्तरिक पर्यटकहरूलाई साँझ बिहान त्रिशुली नदी छेउमा आएर चिया, कपी खाने र त्रिशुलीको चिसो हावाका साथ रमाइलो र रमणीय दृश्य हेर्ने कन्सेप्टका साथ काम अगाडि बढाएका छौं । त्यो निर्माण सम्पन्न हुने चरणमा छ ।

एमालेबाट निर्वाचित हुनुहुन्छ, मेयर काँग्रेसबाट हुनुहुन्छ, उपमेयर माओवादीबाट हुनुहुन्छ काम गर्न कति सहज छ ?
स्थानीय तहमा निर्वाचित भएर गइसकेपछि निर्वाचित हुनु अघि एमालेबाट निर्वाचित भएको हो । नगरपालिकामा एमालेकै बहुमत छ । तर, जितेर गइसकेपछि हामी जनताका मान्छे भयौं । संविधानमा उल्लेख भए अनुसार स्थानीय तहमा प्रतिपक्षको भूमिका रहन्न । हामी सबै सरकार हौं । अहिलेसम्म प्रमुख, उपप्रमुख र वडाध्यक्षहरूले सबै काम सहकार्यमा नै गर्दै आएका छौं । केही कुरा चित बुझेन भने नगरप्रमुख र उपप्रमुखलाई बोर्ड मिटिङमा नै भन्ने हो । भनिसकेपछि सल्लाह गरेर नै त्यसलाई अगाडि बढ्ने गरेका छौं । कहिलेकाहीँ अप्ठ्यारो त भइहाल्छ फरक फरक धारणा भएका व्यक्ति भएपछि । तर, नराम्रो नै हुने गरी भएको छैन । एउटा बिन्दुमा निष्कर्ष निस्कन्छ ।
जनताहरूसँग प्रत्यक्ष जोडिनुभएको छ यो वडाका जनताले कस्ता समस्याहरू लिएर वडा कार्यालय आउँछन् ?
मुख्यत; ग्रामीण भूभागकाले समस्या ल्याउने भनेको सिँचाइ, खानेपानी र मलको हो । यो पटक प्रदेश सरकारले विदुर नगरपालिकालाई सम्भवत नुवाकोटभरि नै बढी मल पठाएको छ । पहिलाको दाँजोमा मल पुग्ने पठाएको छ । तैपनि किसानले खोजेको जति पाएका छैनन् । माग अझै सम्बोधन गर्दैछौं । विदुर नगरपालिकामा माटोमा केही समस्या छ कि भनेर प्रदेश सरकारले नै माटो परीक्षण गरायो । माटोमा अम्लीयपन धेरै भएकालाई अम्लीयपन कम गर्न हामीले कृषकहरूलाई चुन निशुल्क वितरण गर्यौं । नगरपालिकाले किसानहरूका समस्या बुझ्न घुम्ती शिविरहरू चलाएको छ । सामाजिक विकास समितिको संयोजक भएको नाताले पनि नगरपालिकाको समग्र कुरा राखेको हुँ ।
१ नम्बर वडामा खानेपानी कै समस्या हो । अर्को ढल व्यवस्थापन हो । ढल व्यवस्थापन राम्रोसँग भइसकेको छैन । मेरो अघिल्लो कार्याकालमा ढलको टेण्डर निकाल्यौं । टेण्डर निकाल्ने क्रममा त्रिशुली बजार छुट्न गएकाले रि सर्भे गराएका छौं । यो ढलको कार्यपनि सम्पन्न भएपछि त्रिशुली नदी शुद्ध बनाउने हाम्रो लक्ष्य हो । ढललाई ट्रिटमेण्ट प्लाण्टमा लगेर शुद्धीकरण गरेर पानी निकालेर व्यवस्थित बनाउने योजना अनुसार काम गर्दैछौं । बाटोघाटोमा चाहिँ अलिकति हाइवेको कुराले समस्या ल्याएको छ । हाइवेमा खाल्डाखुल्डी हुन्छ । बिग्रन्छ । हाइवे स्थानीय सरकार र वडाले बनाउँदैन । एक दुई पटक बनायौं तर, त्यस्ता कुरा अख्तियारमा पर्ने रहेछ । किनकि यो त आयोजना सम्बन्धी बाटो हो स्थानीय तहले किन खर्च गर्यो भन्ने प्रश्न गर्छ । हाइवेको बाटो आयोजनाले बनाउनुपर्ने हुनाले आयोजनाको आफ्नै समस्या होला । बारम्बार भनिरहेका छौं । ढुंगेको त्यही माथिको बाटोपनि अहिलेसम्म आयोजनाकै कारण ढिलाइ भइरहेको छ । सरकारलाई सहयोग गर्ने हिसाबले यहाँका प्रत्येक व्यक्तिहरूलाई कन्भिन्स गरेर क्षतिपुर्ति बापत शुल्क मात्रै लिएर जग्गाको मुआब्जा नलिकन घरहरू भत्काउने क्रममै छन् । दशै तिहार पछि यो बाटोको विकास हुन्छ । कालोपत्रे हुन्छ । त्यसपछि समस्या नरहला कि ?

बागमती प्रदेशको मुख्यमन्त्री यही प्रदेशको र यही क्षेत्रको हुनुहुन्छ उहाँले वडा र नगरपालिकाका समस्याहरूलाई कतिको सहजीकरण गर्नुभएको छ ?
उहाँ नेपाली कांग्रेसबाट निर्वाचित भइकन पनि मैले अहिलेसम्म उहाँ अर्को पार्टीको भन्ने महसुस गरेको छैन । सजिलै भेट्न सक्छु । फोन गरे रेस्पोन्स गर्नुहुन्छ । राम्रो कुरा भइरहेको छ । बजेटको कुरा गर्दा हरेक व्यक्तिको आफ्नो क्षेत्र हुन्छ उहाँले आफ्नो क्षेत्रतिर बढी ध्यान दिनुभएको छ । सायद ग्रामीण भूभाग भएर होला । विदुर नगरपालिकाको हकमा पनि गरेको त छ तर यहाँ भन्दा ग्रामीण भूभागलाई बढी ध्यान दिनुभएको छ । हामीले मागेको कुरालाई सक्दो सम्बोधन गर्ने कोसिस गर्नुभएको छ ।
वडावासीको स्वास्थ्यको अवस्था कस्तो छ ? के के सुविधाहरू दिनुभएको छ ?
विदुर नगरपालिकाका १३ वटै वडामा शहरी स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीहरू छन् । १३ वटै वडामा आवश्यकता अनुसार २ वटा शहरी स्वास्थ्य केन्द्र पनि छ । शहरी स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकी पनि ६ वटा वडामा छन् । १ नम्बर वडामा पनि एउटा शहरी स्वास्थ्य केन्द्र छ । १ नम्बर वडा अस्पतालबाट नजिक छ आवश्यकता थिएन तैपनि ग्रामीण भूभागलाई आवश्यकता पर्छ भनेर बान्द्रेको नर्सरी भन्ने ठाउँमा शहरी स्वास्थ्य केन्द्र बनाएका छौं । जनतालाई प्रत्यक्ष घर घरमै पुगेर सेवा दिने हिसाबमा स्वयंसेवक र आमा समूहहरू परिचालन गर्छौं । घर घरमा गएर कसकोमा के समस्या छ मुख्यत गर्भवती महिला र बच्चाहरूलाई खोप लगाएको छ कि छैन सुनिश्चितता गर्छौं । त्यसपछि पनि वृद्धहरूलाई केही समस्या छ कि भनेर हेर्छौं ।
कोरोनाको समयमा धेरै गार्हो थियो । घर घरमा पुगेर भ्याक्सिन लगाउने देखि सबै गरेका थियौं । विदुर नगरपालिकाले १३ वटै वडामा नेपाल सरकारको स्वास्थ्य बिमा गर्दै आएको छ । नगरपालिकाले १३ वटै वडाबाट कम्तीमा पनि ५० जना दलित, निमुखा लगायत विपन्न वर्गलाई निशुल्क भुक्तानी गरेर (१० प्रतिशत सम्बन्धित व्यक्तिबाट अपनत्वका लागि) परिवारको ५ जना सदस्यको बिमा गरेको छ । विदुर नगरभित्र रहेका सबै विद्यालयमा दुर्घटना बिमा विद्यार्थीका लागि गरेको छौं । यहाँका महिलामा पाठेघरको धेरै समस्या छ । त्यसको लागि विदुर नगरपालिका आफैंले शिविर सञ्चालन गर्यो । त्यसपछि विभिन्न संघ संस्थाले शिविर चलाएका छन् । अहिले मेरीस्टोभ भन्ने संस्थाले गरिरहेको छ । निरन्तर पाठेघरको स्क्रिनिङ भइरहेको छ । त्यस्तै ब्रेस्ट क्यान्सरको पनि गरिरहेका छौं । यो वर्ष नीति तथा कार्यक्रम र बजेटमा व्यस्थापन गरेर वृद्धभत्ता लिएका वृद्धवृद्धाहरूलाई निमोनियाको खोप लगाउने भएका छौं । त्यसको सुरुवात १ नम्बर बाट नै गर्ने कुरा छ ।
महिला, बालबालिका र युवाको उत्थान र सशक्तीकरणका लागि वडाले के गर्दैछ ?
वडाले केही कदम चालेको छ । नगरपालिकाले पनि चालेको छ । महिला र दलितलाई ब्युटिसियन र सिलाइबुनाइ तालिम दियौं । तालिम लिने तर अरु काम नगर्ने भएपछि फेरि उहाँहरूलाई बोलाएर तपाईंहरूलाई एडभान्स तालिम चाहिन्छ भने त्यो पनि लिनुस् भन्यौं । पैसा चाहिन्छ भने बैंकमा कुरा गरेर ऋण पनि उपलब्ध गराइदिन्छौं । नगरपालिकाको उद्योग शाखाबाट अनुदान पनि दिन्छौं भनेपछि उहाँहरू निकै उत्साहित भएका छन् । नगरपालिका मात्रै नभएर प्रदेश सरकारसँग पनि आग्रह गरेर घरेलु उद्योग विकास समिति अन्तर्गत १ नम्बर वडामा नै सिलाइबुनाइ, ब्युटिसियनको एडभान्स कोर्स, ढाका बुनाइ सिलाई, डल बनाउने तालिम दिएका थियौं । जसबाट ७० जना जतिले एकैपटक तालिम लिएका छन् र निकै राम्रो गर्नु भएको छ ।
ग्रामीण भूभागमा मल बनाउने तालिम, बाख्रा पालनमा सहयोग गरेका छौं । विदुरको १ नम्बर वडामा एक जना कृषकले ९८ रोपनी जग्गा लिजमा लिएर कृषि गर्दै आउनु भएको छ सुन्दर कृषि फर्म । हाम्रो सिफारिसमा दुई हजार वटा केरा र र दुई हजार वटा मेवाको बोट पनि अनुदानमा दिएका थियौं । मेवाको बोटमा रोग लागेर बिग्रिएपनि केरा निकै राम्रो भएको छ । केही दिनमा नै केरा बजारमा जानेछ ।
धार्मिक र पर्यटकीय हिसाबले यो क्षेत्र कतिको महत्वपूर्ण छ ? पर्यटक तान्न वडाले के गरिरहेको छ ?
त्रिशुली बजार निकै पुरानो बजार हो । यो बजार बनेको नै यहाँका संस्कृति र मौलिकताको आधारमा हो । यसलाई साँघु बजार पनि भनिन्छ । त्रिशुली बजारको छेउमा एउटा झोलुङ्गे पुल थियो । जसबाट जंगबहादुर घोडासहित हाफ फालेको किताबहरूमा पढ्न पाइन्छ । यहाँ नेवार समुदायको बाहुल्यता छ । यस्तै मुस्लिम समुदायपनि उतिकै छन्। यहाँ मुस्लिमको इद पर्व हिन्दु- मुस्लिम सँगसँगै बनाउँछन् । हिन्दुको पर्वहरूमा पनि उहाँहरूले साथ दिनुभएकै हुन्छ । चन्दाहरू उठाउँदा चन्दा पनि दिनुहुन्छ । यहाँ जात्राहरू सुरु भएको छ । काठमाडौंबाट नजिक भएकाले काठमाडौंमा हुने मौलिकतामा आधारित जात्राहरू यहाँ पनि मनाउँछन् । विदुर १ र २ नम्बर वडाको पनि सम्बन्ध छ । २ नम्बर वडामा लिच्छविकालीन स्वयम्भू महाचैत्य छ । पहिला त त्रिशुली बजारका शाक्य, बज्राचार्यहरू गुला पर्वमा त्यहाँ गएर बाजा बजाएर मन्त्र पाठ पढेर फर्कन्थे । तर अहिले सामाजिक अभियन्ता गौतममानसिंह दाजुले अभियान चलाएर विदुर नगरपालिकाले विदुर नगरपालिका र सम्बन्धित वडाध्यक्षले आफ्नो भुमिका निर्वाह गरेर त्यहाँको विकासका लागि अगाडि बढउँदै हुनुहुन्छ । स्वयम्भु महाचैत्यका कारण पनि नुवाकोटको बजारमा प्रत्येक शनिबार पर्यटक आवागमनले निकै घुँइचो बढेको छ । होटल व्यवसायी उत्साहित भएर चार पाँच वटा होटलहरू, रिसोर्टहरू खुलेका छन् । शनिबार प्याक हुन्छ । त्रिशुली बजारमा धेरै जात्राहरू हुन्छन् । त्रिशुली बजारलाई जात्रा पर्वले नै चिनिन्छ ।

सार्वजनिक सेवा प्रवाह कस्तो छ ? जनगुनासो कस्ता आउँछन् ?
हामीहरूको दायित्व नै त्यही हो । स्थानीय सरकार भएपछि जनताले वडामा आउँदा दुख नपाओस्। छिटो भन्दा छिटो सेवा पाउन् भन्ने हिसाबले काम गर्दै आएका छौं । जन्म दर्ता, मृत्यु दर्ता ३५ दिनभित्रै होस् भनेर सहजीकरण गरेका छौं । जस्तै, वडा नम्बर १ कै कोहीको मृत्यु हुँदा हामी मलामी वा बोलाउन जाँदा त्यही तपाईंहरू आउनूस् है भन्छौं र उहाँहरू आउनु हुन्छ । लगभग १/२ घण्टामा उहाँहरूको काम सकाएर पठाउँछौं । कोहीको कागजपत्र नपुगेर अप्ठ्यारो परेको बेला हामीले सहजीकरण गर्छौं । विवाह दर्ता अनलाइन प्रणालीमा छ त्यसका लागि दुवै परिवारको बुबा आमाको कागजपत्र अनिवार्य गरेको छ । त्यसमा चाहिँ कोही झुक्किनुहुन्छ । वृद्धवृद्धाको फर्महरू फर्ने सबै गर्छौ । वृद्धभत्ता बैंकिङ प्रणालीमार्फत वितरण गर्नुपर्ने हुन्छ । बैंकहरूलाई टोलमै गएर भत्ता वितरण गर्न आग्रह गरेका छौं । बैंकले पनि सहमति जनाइसकेको छ । कति वृद्धहरू बैंकमा आउन सक्दैनन् भनेर सिफारिस गरेका हुन्छौं । छोरा नाति भत्ता लिन आउनुहुन्छ हामीले पनि दिन्छौं र लिएर जानुहुन्छ । तर, घरमा हामी जाँदा भत्ता आएन भनेर सोध्नुहुन्छ । त्यसैले घर घरमै सेवा दिने तयारीमा छौं ।
सुरक्षाका लागि वडाले कस्ता निति अपनाएको छ ? कस्ता सुरक्षा संवेदनशीलताहरू यहाँ छन् ?
सबैभन्दा ठूलो सुरक्षा नै हो । गाडीको चाप एकदमै छ । सवारी चालकहरूले पनि लागू पदार्थ सेवन गरेर ड्राइभिङ गर्ने गरेका थिए । त्यस्तो थाहा पाएर नेपाल प्रहरीसँग समन्वय गरेर चालकहरूलाई समाएको थियो । अहिले यो रुटमा जति पनि सवारी साधन चल्छन् त्यस्तो अवस्था छैन । म निर्वाचित हुनुभन्दा अगाडि खोलाको किनारमा, झाङतिर लापसे गर्ने धेरै थिए । प्रहरीसँगको समन्वयमा पेट्रोल गराएर अहिले कम भएको छ । इन्द्रायनी चौरमा पनि प्रहरीसँग समन्वय गरेर १ नम्बर वडाको सिमानामा अस्थायी प्रहरी पोष्ट छ । ढुंगे चोकमा धेरै दुर्घटना भएको हुनाले ट्राफिक प्रहरीसँग बैठक गरेर कसरी न्यूनीकरण गर्न सकिन्छ भनेर छलफल गरेका छौं । सडक विस्तारको क्रममा छ घरहरू भत्कने क्रममा छ त्यहीभएर अहिले जति चाहेको त्यति गर्न सकिरहेका छैनौं । यो आर्थिक वर्षमा यो बाटो पनि राम्रो हुने र पार्किङ पनि राम्रो हुन्छ ।

२०८२/८३ को बजेट कस्तो आयो ? वडाले सोचेको आयो ?
स्थानीय तहको बजेट हामी सबैले समन्वय गरेर नै बनाएको हो । सुरुवाती चरणमा बजेटप्रति मैले नै अब्जेक्सन राखेको हुँ । नगरसभा समयमा सुरु भएपनि सकिएको थिएन । बजेट बनाउँदा सबै भूगोल समेट्नुपर्छ र पुरानो दायित्वहरू घटाउँदै लानुपर्छ भन्ने हाम्रो सोच थियो । विदुर नगरपालिकाका उपभोक्ताहरूले काम गरिसकेपछि भुक्तानी पाउनुपर्छ भन्ने मान्यता थियो । उहाँहरूले सबै भुक्तानी नपाएर दुख पाएको हुनाले यसलाई सहजीकरण गरेर लानुपर्छ भन्ने हिसाबमा सभालाई हामीले रोक्यौ । पछि नगर प्रमुख, उपप्रमुखसँग पटक-पटक वार्ता गरेपछि पुरानो दायित्व घटाउँदै लाने भन्ने भयो । अनावश्यक खर्चहरूलाई घटाएर पूँजीगत खर्चलाई समयमै सम्पन्न गराउने र उहाँहरूले गरेको कामको भुक्तानी दिने र पुराना दायित्वलाई घटाउँदै लाने सहमति भइसकेपछि असारको २० गते नगरसभा सम्पन्नन गर्यौं ।
आगामी वर्षका लागि बजेटको प्राथमिकता र योजना के के बनाउनु भएको छ ?
हामीहरूले योजना बनाउँदा धेरै ठूला योजना बनाउन नहुने रहेछ । ठूला योजना बनाउँदा राजश्व संकलनमा कमीको कारणले गर्दा धेरै काम नहुने रहेछन् । केन्द्रबाट आउने सामानीकरण र सशर्त बजेटको कुरा नगरौं । समपुरक विशेष बजेट जति छन् ती बजेटले मात्रै पुग्दैन । हामीले राजश्व उठाएर गर्नुपर्ने कार्यहरूमा निकै ठूला योजना गर्न नसकिने हुनाले जनताहरूको सानो मागलाई सम्बोधन गर्नुपर्छ भनेर लाग्यौं । जस्तै कसैको घर जाने बाटो एक डेढ लाखमा बन्छ भने त्यसलाई सम्बोधन गर्नुपर्छ भन्ने सोच बनाएका छौं । यद्यपि त्यो गर्दै गर्दाखेरि विदुर नगरपालिकामा शिक्षा र स्वास्थ्यलाई एकदमै प्राथमिकतामा राखेर काम गरेका छौं । विदुर नगरपालिकाले पहिलोपटक सत्यापन कार्यविधि भनेर शिक्षामा लगानी गर्यौं । जस अन्तर्गत स्कूलहरू मर्जिङ गर्ने काम भयो। विदुर नगरपालिकाले यसअघि स्यमंसेवक शिक्षक भनेर एक करोड बजेट छुट्याउने गरेको थियो । यो समायोजन गरेपछि आधारभूत तहका विद्यालयहरूमा निम्न माध्यमिक विद्यालयका शिक्षक नै दिनुपरेन । समायोजनमा फूलफिल भयो र नगरपालिकाको ४८ लाख रुपैयाँ बच्यो । अहिले मावि तहकालागि मात्रै स्यमंसेवक शिक्षक दिएका छौं । केन्द्रबाट पुर्ति नभएको हुनाले निरन्तर समायोजन गर्दैछौं । यो वर्ष पनि हामी गर्छौं । यसपछि शिक्षामा नेपाल सरकारलाई जुन व्यभार थियो त्यो घट्छ ।
शिक्षामा नगरपालिकाले नगरस्तरीय योजना पनि बनाएको छ । जसअन्तर्गत यहीँ वडाको त्रिभुवन त्रिशुली माविको गत आवको रिजल्ट र यो आवको रिजल्ट नै हेर्न सकिन्छ । त्रिभुवन त्रिशुली माविको एसइईको रिजल्ट लगभग ९० प्रतिशत छ । नगरपालिकाकै रिजल्ट हेर्ने हो भने ७१ प्रतिशत छ । जुनले देशभरको रिजल्टलाई नै माथ दिएको छ । संस्थागत विद्यालयसमेत जोड्दा ७४ प्रतिशत छ । सामुदायिक विद्यालयका विद्यार्थीले ४ जिपिए पनि ल्याएका छन् । स्थानीय सरकारका तर्फबाट निभाउने भुमिका निभाएका छौं ।
कोभिडको समयमा कोरोना टेष्ट वीर अस्पताल र टेकु अस्पतालमा हुन्थ्यो । संसद विकास कोषबाट माननीय नारायण प्रसाद खतिवडाज्यूले ८६ लाख रुपैयाँ छुट्याइदिनु भयो र मेसिन किनेर ल्यायौं । त्यसपछि रसुवा, धादिङ कहिलेकाहीँ त चितवन, काठमाडौंबाट पनि त्रिशुली अस्पतालमा स्वाब टेष्ट गर्न मानिसहरू आउन थाले । अहिले पनि त्यो मेसिनका कारण डिएनए टेष्ट लगायत सबै हुन्छ । अहिलेका बागमती प्रदेशका मुख्यमन्त्रीज्यू अर्थमन्त्री हुँदा सिटि स्क्यान मेसिन उपलब्ध गराउनुभयो । पूर्व माननीय केशव राज पाण्डेले मेसिन उपलब्ध गराउनुभयो । विदुर नगरपालिकाले पूर्व मेयरको पालामा ६५ लाख पर्ने २ थान भेन्टिलेटर उपलब्ध गरायो । प्रादेशिक अस्पतालमा पहिला १ नम्बरमै थियो त्रिशुली अस्पताल । जहाँ सम्म लाग्छ सेवा प्रवाह राम्रै गरिरहेका छौं ।
विदुरले सेफ हाउस सञ्चालन गरेको छ । नुवाकोट भरिका मान्छेको केन्द्र हो विदुर । दुख पाएको महिलाहरू, मानसिक रोगीहरूलाई संरक्षण गरेका छौं । त्यस्तै मानसिक सन्तुलन गुमाएकालाई काठमाडौंमा हामीहरूले पठाउने गरेका छौं । जुन नगरपालिकाले आर्थिक भार व्यहोर्ने गर्छ ।
नुवाकोट दरबार जाने बाटो फुट रेलले छुन्छ भनिन्छ त्यसका लागि के गर्नुभएको छ ?
नुवाकोट जाने ऐतिहासिक बाटो हो । यो बाटोलाई राम्रो बनाउन पर्छ भनेर धेरै तयारी गर्यौ। यो वर्ष नगरपालिकाको प्रधानमन्त्री रोजगार अन्तर्गतको बजेट र १ नम्बर वडाको बजेटको साझेदारीमा निर्माण कार्य सुरु गरेका छौं । जसअन्तर्गत यो वर्ष दास ढुंगा पुर्याउने लक्ष्य थियो ३५ लाखले । तर, समयको अभावले दास ढुंगासम्म बनेन अलि तलसम्म बन्यो । उकालो बाटो र ढुंगा पुर्याउन गार्हो भएकाले त्यति बन्यो । यो वर्ष पुन: १५ लाख थप बजेट छ । त्यसलाई २ नम्बर वडाको इन्द्रचोकसम्म पुर्याउने लक्ष्यका साथ काम गरिरहेका छौं । १ नम्बर वडाको लगभग सीमानासम्म त्यो सिढी बनिसकेको छ ।