सिन्धुपाल्चोक - सिन्धुपाल्चोकको चौतारा सागाचोकगढी नगरपालिका–१० अन्तर्गत बलेफी–बन्देउ सडक खण्डमा शनिबार दिउँसो झडप भएको छ। घटनामा संलग्न दुवै पक्षले एक–अर्कामाथि कुटपिट गरेको आरोप लगाएका छन्।
पेटी ठेकेदार सुनिल श्रेष्ठका अनुसार हिजो करिब ११:३० बजे सडक कटिङको काम भइरहेको क्रममा एमालेका रमेश लामा नेतृत्वको समूहले अपशब्द प्रयोग गर्दै आफूहरूमाथि मुक्का प्रहार गरेको थियो। कुटपिटपछि उनका भतिज नारायण श्रेष्ठ घटनास्थलमा पुगेका थिए तर उनीमाथि पनि हातपात भएपछि सुरक्षाका लागि बलेफीतर्फ लाग्नुपरेको श्रेष्ठको भनाइ छ। त्यहाँसमेत रमेश लामा समूहले पुनः आक्रमण गर्न खोजेपछि आफूहरूले ज्यानको प्रतिरक्षा मात्र गरेको उनले दाबी गरेका छन्।
श्रेष्ठले नेकपा एमाले जिल्ला कमिटीले रड प्रयोग गरी आक्रमण गरेको भन्ने आरोप असत्य भएको बताएका छन्। ‘हामीले आत्मरक्षाका क्रममा कुनै हातहतियार वा रड प्रयोग गरेका छैनौँ, आवश्यक परे सीसीटीभी फुटेज जाँच गर्न सकिन्छ,’ उनले भने। झडपका क्रममा आफ्नो औँठी र सिक्रीसमेत हराएको श्रेष्ठले बताएका छन्।
झडपमा श्याम लामाको टाउकोमा गहिरो चोट लागेको र रमेश लामाको नाकको हड्डी भाँचिनुका साथै गालाको हड्डी चर्किएको राष्ट्रिय युवा संघका जिल्ला अध्यक्ष सुरज तामाङले बताए । रमेश लामा र श्याम लामा खाडीचौरमा आयोजित पार्टीको उम्मेदवार सिफारिस कार्यक्रममा जाँदै गर्दा बलेफी–बन्देउ सडक खण्डमा सवारी केही समय रोकिएपछि बाटो खोल्न अनुरोध गर्दा ठेकेदार भनिने सुनिल श्रेष्ठ र नारायण श्रेष्ठले कुटपिट गरेको आरोप उनले लगाएका छन्। त्यसपछि केही समयमै सुनिल र नारायणको समूह आएर पुनः कुटपिट गरेको उनीको दाबी छ।
घटनापछि नेकपा एमाले सिन्धुपाल्चोक र राष्ट्रिय युवा संघ सिन्धुपाल्चोकले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै आफ्ना नेता तथा कार्यकर्तामाथि आक्रमण भएको भन्दै गम्भीर ध्यानाकर्षण गराएका छन्।
विज्ञप्तिमा दोषीमाथि तत्काल छानबिन गरी कडा कारबाही गर्न माग गरिएको छ। साथै यस्ता घटनाले चुनावी माहोललाई बिगार्ने भन्दै शान्ति र सुरक्षा कायम गर्न सम्बन्धित निकायलाई आग्रह गरिएको छ। रमेश लामा एमाले सिन्धुपाल्चोक का जिल्ला सदस्य हुन् ।

