आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा नेपाली कांग्रेस र एमालेका केही पदाधिकारी नै चुनाव लड्न नपाउने भएका छन्। यसरी चुनाव लड्न नपाउनेहरूमा कांग्रेस महामन्त्री गगनकुमार थापा, नेकपा एमालेका सचिवद्वय राजन भट्टराई र शेरधन राई, रास्वपा नेतृ सोविता गौतम, शिशिर खनाल लगायत रहेका छन्।
देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका छ प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ। आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा।
दलहरूले बुझाए समानुपातिक बन्दसूचीः आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको बन्दसूची पेस गर्ने ६४ राजनीतिक दलमध्ये २२ दलले मात्रै ११० स्थानमा उम्मेदवारी दिएका छन् । निर्वाचन आयोगमा यही पुस १३ र १४ गते पेस भएको बन्दसूचीमा २२ दलले मात्रै समानुपातिकको सबै स्थान ११० उम्मेदवारी मनोनयन गरेका हुन् । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले कूल ६४ दलले सूची बुझाएकामा ५८ दलले ५८ निर्वाचन चिह्नमा उम्मेदवारी दिएको बताए।
काठमाडौंको तापक्रम थप घट्यो: काठमाडौँको तापक्रम आज यो वर्षकै सबैभन्दा कम मापन गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज काठमाडौँको न्यूनतम तापक्रम ४.८ डिग्री रेकर्ड भएको छ। यो तापक्रम वर्षकै सबैभन्दा कम हो । यसअघि यही पुस ८ गते काठमाडौँको न्यूनतम तापक्रम ४.९ डिग्री मापन भएको थियो । त्यसपछिको कम तापक्रम आज मापन भएको हो ।
सन्तान प्राप्तिको कामनाले पुत्रदा एकादशी व्रत: आज पौष शुक्ल एकादशी पुत्रदा एकादशीको व्रत गरिँदैछ । यो एकादशीको विधिपूर्वक व्रत गर्नाले सन्तान प्राप्ति हुने विभिन्न पौराणिक एवं शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ । यो एकादशीको माहात्म्य युधिष्ठिरले सोधेपछि भगवान् श्रीकृष्णले आज्ञा गर्दै पुत्रदा एकादशीको व्रतले सबै पापलाई हरण गर्ने उल्लेख गरेको पनि विभिन्न ग्रन्थमा लेखिएको छ । समस्त कामना तथा सिद्धिका दाता भगवान् लक्ष्मीनारायण यस तिथिका अधिदेवता हुन् ।
आज तमु ल्होसार: गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै आज तमु ल्होछार मनाउँदैछन् । ‘ल्हो’को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसार गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउने गर्छन् ।‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ ।
सुनको मूल्य घट्यो: नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । आज ७ हजार ९ सय रुपैयाँले सुनको मूल्य घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २ लाख ६२ हजार १०० रुपैयाँ कायम भएको छ । हिजो सोमबार सुनको मूल्य २ लाख ७० हजार कायम भएको थियो भने आज घटेर २ लाख ६२ हजार १०० रुपैयाँ कायम भएको हो ।
गाँजा र अफिम खेती नष्ट: मकवानपुरमा अवैध रूपमा गरिएको लागूऔषध गाँजा तथा अफिम खेतीविरुद्ध प्रहरीले व्यापक फडानी अभियान सञ्चालन गरी ३० विगाह क्षेत्रफलमा फैलिएको खेती नष्ट गरेको छ । गत पौष ११ गतेदेखि पौष १४ गतेसम्म तालुक बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा, जिल्ला प्रहरी कार्यालय मकवानपुर, बागमती प्रदेश प्रहरी गण हेटौंडा, विपद् व्यवस्थापन गुल्म हेटौंडा तथा मातहतका प्रहरी कार्यालयहरूबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले उक्त अभियान सञ्चालन गरेको हो ।

