काठमाडौं- उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता गर्न सहमत भएका छन्।
सहमतिसँगै रास्वपा सभापति रवि लामिछाने, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र कुलमान घिसिङ एउटै दल भएर आगामी निर्वाचनमा जाने सहमतिमा पुगेका हुन्।
सोमबार कमलपोखरीस्थित रास्वपा पूर्वसांसद् अशिम शाहको निवासमा भएको छलफलमा सहमति जुटेको रास्वपाका नेताहरूले बताए। सहमतिपत्रको मस्यौदा तयार भइसकेको र केहीबेरमा हस्ताक्षर हुने जानकारी दिइएको छ।
यसअघि रवि लामिछाने र बालेन शाहबीच छलफल भइरहेको स्थानमा काउन्सिल अफ जेन–जीका अभियानी सुदन गुरुङले कुलमान घिसिङलाई सहभागी गराएका थिए। बौद्धस्थित एक होटलमा समानुपातिक सूची बनाइरहेका कुलमानलाई गुरुङले आफ्नै गाडीमा राखेर रवि–बालेन भएको स्थानमा पुर्याएका थिए। त्यसपछि भएको संवादले एकताको सहमति टुंगिएको नेताहरूको दाबी छ।
रास्वपा स्रोतका अनुसार, कुलमान घिसिङको टिमबाट १८ जना समानुपातिक बन्द सूचीमा समावेश हुनेछन्। यस्तै सहमति अनुसार कुलमान घिसिङलाई रास्वपाको उपसभापति बनाउने समझदारी समेत भएको नेताहरूले बताएका छन्।

