Harsamaya
पुस ११:  जाँचबुझ आयोगका अध्यक्षविरुद्धको रिट निवेदन खारेज देखि सिरियामा मस्जिदमा विस्फोटसम्म

सर्वोच्च अदालतले गत भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्की र सदस्यहरू विज्ञानराज शर्मा र विश्वेश्वरप्रसाद भण्डारीविरुद्धको रिट निवेदन खारेज गरेको छ । न्यायाधीशहरू डा मनोजकुमार शर्मा, नहकुल सुवेदी र श्रीकान्त पौडेलको पूर्ण इजलासले आज निर्देशनात्मक आदेश जारी गर्दै रिट निवेदन खारेज हुने फैसला सुनाएको हो ।

देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका छ प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ। आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा।

संसद् पुनर्स्थापना अहिले हुँदैन : नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले अहिले प्रतिनिधि सभा पुनर्स्थापना नहुने बताएका छन्। नेकपा केन्द्रीय कार्यालय, पेरिस डाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा  संयोजक दाहालले अब नेपाली काँग्रेस र नेकपा (एमाले) पनि चुनाव तिरै जाने जिकिर गरे। उनले काँग्रेस र एमालेले सर्वोच्च अदालतमा संसद् पुनर्स्थापना लागि रिट हालेको भए पनि अब निर्वाचनमा एक ढिक्का भएर लाग्नुपर्ने बताए । 

अब चुनावको विकल्प नभएको उनको भनाइ थियो। कार्यकर्तालाई सम्बोधन गर्दै दाहालले भने, ‘न्यायालयमा पनि जानुभएको छ। तर म तपाईँ सबै र जनतालाई नै भन्न चाहन्छु– कुनै भ्रममा पर्न आवश्यक छैन। संसद् पुनर्स्थापना अहिले हुँदैन। निर्वाचन अब अगाडि आई नै सक्यो।’

कठपुतली सरकार ल्याउने चुनावलाई बहिष्कार गर्नुपर्छ : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव सिपी गजुरेलले साम्राज्यवादीले वैधानिकता हासिल गरी एउटा कठपुतलीलाई ल्याएर सरकारमा राख्नको लागि मात्र निर्वाचन गर्न लागेको बताएका छन् । शुक्रबार १३३ औँ माओ दिवसको अवसरमा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले अहिले चुनावको विषय नेपालमा विचित्र ढङ्गले आएको भन्दै त्यसको बहिस्कार गर्नुपर्ने बताए ।

उनले भने,‘अहिले चुनावको जुन विषय नेपालमा आइराखेको छ । त्यो विचित्र ढङ्गले आएको छ । चुनाव हुन नियमित ढङ्गले समय पुगेको हुनुपर्छ । समय पुगेको त छैन, दुई वर्ष बाँकी नै थियो । त्यो दुई वर्ष बाँकी हुँदै चुनाव गर्नुको कारण के हो कसैलाई थाहा छैन । पत्रकारले सोधे भने प्रधानमन्त्री सुशीला कार्कीले यो आवश्यक हो मात्र भनेर जवाफ दिने । चुनाव माग कसले गरेको छन् ?

जनकपुरमा बंगलादेश सरकारविरुद्ध प्रदर्शन : जनकपुरधाममा महिला अभियानीहरुले बांगलादेशविरुद्ध विरोध प्रदर्शन गरेका छन् । बांगलादेशमा केही दिनअघि निर्ममतापूर्वक हिन्दू समुदायका युवा दिपु दासको हत्या गरिएको विरोधमा शुक्रबार जनकपुरधामको जनक चोकमा महिला अभियानीहरुले विरोध प्रदर्शन गरेका छन् ।

उनीहरुले मो.युनुश मुर्दावाद, बांगलादेश सरकार मुर्दावाद, हिन्दू हत्या बन्द गर लगायतका नारा लगाउँदै प्ले कार्डसहित विरोध प्रदर्शन गरेका हुन् । महिला अभियानीहरुले मो. युनुसको नाममा माटोको खपरी फोडेर विरोध जनाएका छन् । उनीहरुले मों युनुसको फोटोसहितको प्लेकार्ड पनि जलाएका छन् ।

राष्ट्रपति रनिङ शिल्ड खेल्न विद्यार्थी लिएर गएको जिप दुर्घटना : भूमिकास्थान नगरपालिकामा स्थानीय जनजागृति माध्यमिक विद्यालयका विद्यार्थी सवार जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य १६ जना घाइते भएका छन् । 

भूमिकास्थान नगरपालिका–१० धनचौरबाट नुवाकोट गइरहेको लु२च ५१७९ नम्बरको जिप सोही नगरपालिका–७ छिर्लिङ खोला नजिक दुर्घटना हुँदा जिप चालक भूमिकास्थान–१० धनचौरका ४५ वर्षीय रुद्रबहादुर बुढामगरको मृत्यु भएको हो । 

विदेश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ : प्रहरीले वैदेशिक रोजगारीका लागि विभिन्न देशहरूमा पठाइदिने भन्दै लाखौँ रकम ठगी गरेको अभियोगमा आज तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा जिल्ला काठमाडौँ चन्द्रागिरि–४ बस्ने ३७ वर्षीया ममता श्रेष्ठ, काभ्रेपलाञ्चोक पाँचखाल–६ बस्ने ३० वर्षीय सरोज पोख्रेल तथा दोलखा भिमेश्वर–७ का ४९ वर्षीय डम्बरबहादुर तामाङ रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए । 

सिरियामा मस्जिदमा विस्फोट हुँदा कम्तीमा ८ जनाको मृत्यु :  सिरियामा शुक्रबार  मस्जिदमा विस्फोट हुँदा कम्तीमा ८ जनाको मृत्यु भएको छ भने करिब २० व्यक्ति घाइते भएका छन्।बिबिसीका अनुसार सिरियाको होम्स प्रान्तस्थित मस्जिदमा शुक्रबार प्रार्थना गर्न मानिस भेला भइरहेका बेला विस्फोट भएको हो। विस्फोट अलावी समुदायको बाहुल्य रहेको अल-दहाब क्षेत्रमा भएको हो।

सिरियाको सरकारी सञ्चारमाध्यमका अनुसार प्रारम्भिक अनुसन्धानले मस्जिदभित्र राखिएको विस्फोटक पदार्थका कारण विस्फोट भएको देखाएको छ।

 

 

 

प्रकाशित मिति: शुक्रबार, पुस ११, २०८२  २२:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update