काठमाडौं - सर्वोच्च अदालतले गत भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्की र सदस्यहरू विज्ञानराज शर्मा र विश्वेश्वरप्रसाद भण्डारीविरुद्धको रिट निवेदन खारेज गरेको छ ।
न्यायाधीशहरू डा मनोजकुमार शर्मा, नहकुल सुवेदी र श्रीकान्त पौडेलको पूर्ण इजलासले आज निर्देशनात्मक आदेश जारी गर्दै रिट निवेदन खारेज हुने फैसला सुनाएको हो ।
यसअघि, न्यायाधीशद्वय हरिप्रसाद फुँयाल र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासले लिखित जवाफ माग गर्दै कारण देखाऊ आदेश जारी गरेको थियो ।
आयोगका अध्यक्ष कार्कीसहितलाई विपक्षी बनाएर अधिवक्ता विपीन ढकालले आज दायर गर्नुभएको रिट निवेदनमा आयोगका पदाधिकारीहरू निष्पक्ष छानबिन र विषयवस्तुबारे तटस्थ नभएको उल्लेख गरिएको थियो ।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार रिट खारेज हुने फैसला भएको छ । निर्देशनात्मक आदेश लिखित रूपमा आउन भने बाँकी छ । यो फैसलासँगै जाँचबुझ आयोगको वैधानिकतामाथिको प्रश्न टुङ्गिएको छ ।

