काठमाडौं- उच्च शिक्षाका लागि विदेश पठाइदिन्छु भन्दै २६ लाखभन्दा बढी ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३५ वर्षीय सूर्यबहादुर डाँगी रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका सूचना अधिकारी प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिएका छन् ।
प्रहरीका अनुसार 'युरो एसिया एजुकेशन कन्सल्ट प्रा.लि.' सञ्चालन गरी डाँगीले उच्च शिक्षा अध्ययनका लागि अमेरिका, क्यानडा, यूकेलगायतका देशमा पठाउने भन्दै आफ्नो कम्पनीको नाममा रकम जम्मा गर्न लगाएका थिए । उनले कलेज फी, बीमका लागि रकम जम्मा गराउन लगाएको प्रहरीले जनाएको छ ।
तर, सम्बन्धित विश्वविद्यालय र बीमा कम्पनीमा भुक्तानी गरेको कुनै विवरण उपलब्ध नगराई पीडितहरूलाई झुटो आश्वासन देखाएको जनाइएको छ । उनले विभिन्न व्यक्तिहरूबाट २६ लाख ८ हजार ५६५ रुपैयाँ ठगी गरेको उजुरी परेको प्रहरीले जनाएको छ ।
उजुरीपछि खटिएको टोलीले उनलाई पुस ७ गते लैनचौरबाट पक्राउ गरी थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको प्रहरी उपरीक्षक आचार्यले जानकारी दिएका छन् । प्रहरीका अनुसार उदपुर घर भएका डाँगी हाल काठमाडौं-१० पुरानो बानेश्वर बस्दै आएका छन् ।
डाँगीसँगै तीनवटा ल्यापटप, दुईवटा मोबाइल, छापलगायतका सामग्री पनि बरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।

