भक्तपुर - जुद्ध बारुण यन्त्र भक्तपुरले ठूला भवनमा आगो नियन्त्रणका लागि ड्रोन प्रविधि भित्र्याउनेबारे छलफल भएको छ । सोमबार चीनको गोञ्जाओ सिभिल एभिएसन कलेजका प्रतिनिधिको टोलीसँग छलफल भएको हो ।
चिनियाँ टोलीमा सहभागी टिन जु, हि याङविन, वाई जिनकुन, यान झियानलगायतले बारुण यन्त्र कार्यालयको अवलोकन गर्नुका साथै ड्रोन प्रविधि भित्र्याउनेबारे छलफल भएको कार्यालय प्रमुख विजयप्रसाद धौभडेलले जानकारी दिए । त्यस अवसरमा सम्भाव्यता अध्ययन गरी चिनियाँ सहयोगमा प्रविधि ल्याउनेबारे छलफल भएको उनले बताए ।
चिनियाँ टोलीले कार्यालयमा कार्यरत आठ जना अग्निनियन्त्रकलाई अग्निनियन्त्रणका नवीन प्रविधि, ड्रोन प्रविधि र सीपसम्बन्धी तालिम प्रदान गर्ने सहमति भएको छ । यसका लागि चिनियाँ टोलीले यहाँ कार्यरत कर्मचारीलाई चीनमै लगेर तालिम प्रदान गर्ने सहमति भएको कार्यालयका प्रमुख धौभडेलले जानकारी दिए ।
छलफलमा नेपाल उद्धार तथा अग्निनिवारण सङ्घका अध्यक्ष मधुसूदन थापा, ड्रोनहब नेपालका परियोजना व्यवस्थापक सुजित चौधरी, आप्सा नेपालका प्रमुख कार्यकारी अधिकृत सुशील फुयाललगायतको सहभागितामा रहेको थियो ।

