Harsamaya
सुदूरपश्चिम प्रदेशसभा बैठक पुस ११ गते बस्ने 
फाइल फोटोः हर समय/harsamaya

सुदूरपश्चिम- लामो समयदेखि स्थगित सुदूरपश्चिम प्रदेशसभाको चालु अधिवेशनअन्तर्गतको बैठक यही पुस ११ गते बस्ने भएको छ । सभामुख भीमबहादुर भण्डारीले आज बसेको प्रदेशसभा, कार्यव्यवस्था परामर्श समितिको बैठकमा पुस ११ गते प्रदेशसभाको बैठक बस्ने निर्णय भएको जानकारी दिए।

चालु बजेट अधिवेशनअन्तर्गतको पछिल्लो बैठक गत भदौ ५ गते बसेको थियो । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते प्रदेशसभा भवनमा आगजनी र तोडफोड भएपछि नियमित बैठक बस्न सकेको छैन । 

बैठक बस्न नसक्दा महत्त्वपूर्ण विधेयक माथिको छलफलसमेत रोकिएको छ । जेनजी आन्दोलनका क्रममा प्रदेशसभा सचिवालय, संसदीय दलका कार्यालय, संसद् भवनमा गरी झण्डै रु आठ करोड बराबरको क्षति पुगेको थियो ।

प्रदेशसभा सचिवालयका सचिव देवबहादुर बोगटीले क्षति पुगेका संरचना मर्मत सम्भारको काम अन्तिम चरणमा पुगेको र पुस ११ गते दिउँसो २ः०० बजे चालु बजेट अधिवेशनको बैठक बस्ने निर्णय भएको बताए।

उनले भने,‘पुष ११ मा बैठक बस्ने र लगत्तै चालु अधिवेशन अन्त्य गरेर हिउँदे अधिवेशन बोलाउने विषयमा सरकारसँग परामर्श भइरहेको छ । त्यसो हुन नसकेमा चालु अधिवेशनका थप बैठक बस्नेछन्।’

प्रकाशित मिति: सोमबार, पुस ७, २०८२  १९:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update