सिन्धुपाल्चोक - भारतको गुरुग्रामबाट सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका वडा नम्बर–४, टाकुरेका ४४ वर्षीय सोमबहादुर तामाङ बेपत्ता भएका छन्।
छोरीलाई भेट्न तथा रोजगारीको सिलसिलामा गुरुग्राम पुगेका तामाङ डिसेम्बर १५ तारिखदेखि सम्पर्कविहीन भएको परिवारले जनाएको छ। छोरी पन्जु तामाङका अनुसार उक्त दिन बिहान बुवा आफू बस्दै आएको कोठामा नदेखिएपछि खोजी कार्य सुरु गरिएको हो।
बुवा हराएपछि पन्जु तामाङ गुरुग्रामका विभिन्न गल्ली–गल्लीमा धाउँदै खोजीमा जुटिरहेकी छन्। लामो समयसम्म खोजी गर्दा पनि बुवाको पत्ता नलागेपछि उनले सामाजिक सञ्जालमार्फत भिडियो सार्वजनिक गर्दै बुवाको खोजीका लागि सहयोगको अपिल गरेकी छिन्।
पन्जु तामाङले गुरुग्रामको सेक्टर १७–१८ स्थित प्रहरी चौकीमा उजुरी समेत दिएकी छन्। तर उजुरी दिएपनि अहिलेसम्म बुवाको अवस्था पत्ता नलागेपछि उनले गुरुग्राम वरपर रहेका नेपाली समुदाय, संघ–संस्था तथा व्यक्तिहरूलाई खोजी कार्यमा सहयोग गर्न आग्रह गरेकी छन्।
मानसिक सन्तुलन पूर्ण रूपमा ठिक नभएकाले बुवा आफ्नै कोठाबाट बेसुरमा निस्किएको हुन सक्ने आशंका छोरी पन्जु तामाङले व्यक्त गरेकी छन्। बेपत्ता सोमबहादुर तामाङको खोजीमा परिवारले सबैसँग सहयोगको अपिल गरेको छ।

