Harsamaya
सिन्धु कांग्रेस सभापति लामाविरुद्ध पदाधिकारीले नै दिए सानेपामा उजुरी
कांग्रेसका उपसभापति दोर्जे लामा र टंक बहादुर कार्की, सचिव भक्तध्वज बोहोरा, सदस्य रमेशराज भण्डारी तथा सह–सचिवद्वय नरेश कार्की र क्षेत्रीय सभापति बालकृष्ण बस्नेत काँग्रेस केन्द्रीय कार्यालयमा उजुरी दिँदै ।

सिन्धुपाल्चोक - नेपाली कांग्रेस सिन्धुपाल्चोक जिल्ला सभापति जंग बहादुर लामा विरुद्ध पार्टीको केन्द्रीय कार्यालय सानेपा, ललितपुरमा औपचारिक उजुरी दर्ता भएको छ।

आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनको सन्दर्भमा नेपाली कांग्रेस केन्द्रीय कार्यालयले विधानअनुसार तीन जनाको नाम सिफारिस गर्न निर्देशन दिएको थियो। सो निर्देशनअनुसार प्रतिनिधिसभा क्षेत्र नं. १ ले प्रत्यक्ष तर्फ नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहन बस्नेतको नाम एकल रूपमा सिफारिस गरेको थियो।

तर उजुरीअनुसार क्षेत्रीय कार्यसमितिको उक्त निर्णयलाई बेवास्ता गर्दै जिल्ला सभापति जंग बहादुर लामाले आफ्नो नाम र महेन्द्र लामाको नाम थप गरी जिल्ला कार्यसमितिको तर्फबाट केन्द्रमा सिफारिस पठाएका थिए। यसलाई पार्टी विधान, निर्णय प्रक्रिया र आन्तरिक लोकतन्त्रविपरीतको कार्य भएको उजुरीकर्ताहरूको आरोप छ।

जिल्ला कार्य समिति सिन्धुपाल्चोकका सचिव भक्तध्वज बोहराले कार्यसमितिको बैठक नै नबसि सभापति लामाले एकल सिफारिस गरेको आरोप लगाए । ‘मंसिर २५ गते जिल्ला कार्यसमितिले बैठक बोलाएको थियो त्यहाँ विवाद भएपछि सभापतिजी बैठक सकियो भनेर हिँड्नुभयो’  सचिव बोहोराले भने, ‘त्यसपछि बैठक बसेको हामीलाई थाहा छैन आफ्नो हिसाबले सिफारिस गरेको पत्रपो देख्यौं ।’ 

उजुरी पत्रमा उल्लेख गरिएअनुसार क्षेत्रीय कार्यसमितिको बैठकबाट सर्वसम्मत रूपमा गरिएको निर्णयलाई लत्याएर जिल्ला तहबाट एकल निर्णयमार्फत नाम थपिनु गम्भीर विषय भएको भन्दै पार्टी केन्द्रीय कार्यसमितिको गम्भीर ध्यानाकर्षण गराइएको छ।

यस विषयमा आपत्ति जनाउँदै सिन्धुपाल्चोक कांग्रेसका उपसभापति दोर्जे लामा र टंक बहादुर कार्की, सचिवद्वय भक्तध्वज बोहोरा र  रमेशराज भण्डारी तथा सह–सचिवद्वय नरेश कार्की र कृष्ण भक्त नेपाल, कोषाध्यक्ष रविन्द्र प्रधानले नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्ण बहादुर खड्कालाई सम्बोधन गर्दै सानेपामा उजुरी पत्र दर्ता गराएका हुन्।

उजुरीमा क्षेत्रीय कार्यसमितिको निर्णयअनुसार उम्मेदवार चयन प्रक्रिया अघि बढाउन, विधानविपरीत गरिएका सिफारिसहरू सच्याउन तथा आवश्यक छानबिन गरी उचित निर्णय लिन माग गरिएको छ।

प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फ क्षेत्र नम्बर–१ को क्षेत्रीय बैठकले  केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतको नाम प्रत्यक्ष तर्फ सर्वसम्मत रुपमा पठाएको थियो । तर जिल्लाले जिल्ला सभापति जंगबहादुर लामा र  महेन्द्र लामाको नामसमेत पठाएको छ । यता समानुपातिक र राष्ट्रिय सभामा समेत क्षेत्रको निर्णय लत्याउँदै जिल्लाले आफूखुशी उम्मेदवारहरूको नाम सिफारिस गरेको छ । 

प्रकाशित मिति: बिहीबार, पुस ३, २०८२  २०:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update