Harsamaya
सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट राष्ट्रिय सभा र प्रतिनिधिसभा सदस्यका लागि पाँच जनाको नाम सिफारिस
ग्राफिक्सः हर समय/harsamaya

काठमाडौं - नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नम्बर १ ले आसन्न निर्वाचनका लागि पाँच जनाको नाम सिफारिस गरेको छ । मंगलबार बाह्रबिसेमा बसेको क्षेत्रीय कार्यसमिति बैठकले राष्ट्रिय सभा र प्रतिनिधिसभाका लागि पाँच जना उम्मेदवारको नाम सिफारिस गरेको क्षेत्रीय सभापति बालकृष्ण बस्नेतले जानकारी दिए ।

क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाको प्रत्यक्षका लागि  केन्द्रीय सदस्य तथा पूर्व मन्त्री मोहन बहादुर बस्नेतको नाम सर्वसम्मत सिफारिस गरेको हो । आएका महासमिति, महाधिवेशन प्रतिनिधिलगायतले बस्नेतको नाममा सर्व सहमति जनाएको सभापति बस्नेतले बताए । बस्नेतको नाम क्षेत्र नम्बर २ मा समेत आएको थियो । 

यस्तै प्रतिनिधिसभा समानुपातिक तर्फ डा. प्रेमध्वज लामा र दोर्जे लामा (हाउडे) को नाम सिफारिस गरिएको छ । लामा गत जिल्ला महाधिवशनमा तेस्रो भएका थिए भने दोर्जे जिल्ला उपसभापति हुन् । राष्ट्रिय सभाका लागि भने भोला बोहोरा र वेद बहादुर श्रेष्ठको नाम सिफारिस गरिएको छ । बोहोरा काँग्रेसका पुराना नेता हुन् भने श्रेष्ठ उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य हुन् ।

नेपाली कांग्रेसले केन्द्रीय समितिको निर्णयका आधारमा प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ तीन जना, समानुपातिकतर्फ दुई जना र राष्ट्रियसभाका लागि तीन जनाको नाम सिफारिस गर्न परिपत्र गरेको छ । सोही अनुसार क्षेत्र नम्बर १ ले नाम सिफारिस गरेको हो ।

निर्वाचन आयोगले फागुन २१ गते प्रतिनिधिसभा र माघ ११ गते राष्ट्रिय सभाको निर्वाचन तोकेको छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर २३, २०८२  १९:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update