Harsamaya
काँग्रेस सिन्धुपाल्चोक: क्षेत्रबाट आएको नाम कसको काटियो, कसको थपियो ?
ग्राफिक्स: हर समय/Har Samaya

सिन्धुपाल्चोक - नेपाली काँग्रेस सिन्धुपाल्चोक जिल्ला कार्यसमितिले प्रतिनिधिसभा सदस्य (प्रत्यक्ष र समानुपातिक) तथा राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरूको नाम सिफारिस गरेको छ।

दुई निर्वाचन क्षेत्र रहेको सिन्धुपाल्चोक जिल्लामा प्रतिनिधिसभा प्रत्यक्षतर्फ क्षेत्र नम्बर–१ बाट ३ जना र क्षेत्र नम्बर–२ बाट १५ जनाको नाम सिफारिस गरिएको छ। अघिल्लो निर्वाचनमा क्षेत्र–१ मा माओवादी केन्द्रका माधव सापकोटाले गठबन्धनतर्फबाट जित हासिल गरेका थिए भने क्षेत्र–२ बाट काँग्रेसका मोहनबहादुर बस्नेत निर्वाचित भएका थिए। आगामी फागुन २१ गते हुने निर्वाचनका लागि केन्द्रीय नेतृत्वले क्षेत्रीय तथा जिल्ला कार्यसमितिलाई कम्तीमा ३ जना (२ पुरुष र १ महिला) उम्मेदवार सिफारिस गर्न निर्देशन दिए पनि सो निर्देशनलाई बेवास्ता गर्दै जिल्ला कार्यसमितिले क्षेत्र–२ बाट १५ जनासम्मको नाम सिफारिस गरेको छ।

क्षेत्र नम्बर–१
प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फ क्षेत्र नम्बर–१ बाट केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत, जिल्ला सभापति जंगबहादुर लामा र युवा नेता महेन्द्र लामाको नाम सिफारिस गरिएको छ। क्षेत्रले गरेको सिफारिसलाई लत्याउँलै जिल्लाले दुई जनाको नाम थपेको हो । जिल्ला कार्यसमितिको बैठकमा सहमत्ति हुन नसकेपछि सभापति जंग बहादुर लामाले आफूनिकटहरूसँग छलफल गरेर उम्मेदवार सिफारिस गरेका हुन् । मोहनबहादुर बस्नेत सिन्धुपाल्चोक काँग्रेसमा प्रभावशाली नेताका रूपमा चिनिन्छन्। उनी तत्कालीन ओली सरकारमा स्वास्थ्य मन्त्री हुँदा टेरामेक्स प्रकरणमा मुछिएका थिए र उक्त मुद्दाको सुनुवाइ बाँकी रहेको छ। जंगबहादुर जिल्ला सभापति हुन् । उनी १४औं महाधिवेशनमा बस्नेतबाट सभापति जितेका थिए । अहिले बस्नेत र लामाबीच पानी बाराबरको अवस्था छ । यता लामा राप्रपाबाट काँग्रेस प्रवेश गरेका व्यक्ति हुन् । 

यता, प्रतिनिधिसभा समानुपातिकतर्फ १२ जनाको नाम सिफारिस गरेको छ । क्षेत्रले महासमिति सदस्य डा. प्रेमध्वज लामा, जिल्ला उपसभापति दोर्जे लामा  र महिला नेतृ ढुंगानाको नाम सफारिस गरेको थियो । क्षेत्रले गरेको नाम सिफारिसमा महिला नेतृ  यस्मिन ढुंगानाको नाम हटाउँदै जिल्लाले थप १० जनाको नाम थपेको हो । जिल्लाले महाधिवेशन प्रतिनिधि बलदेव तिमिल्सिना, महाधिवेशन प्रतिनिध तपेन्द्र दर्नाल, लोकतान्त्रिक शेर्पा संघका केन्द्रीय अध्यक्ष लाक्पा छेलेन शेर्पा, युवा नेता रामशरण भण्डारी, कुमार श्रेष्ठ, महासमिति सदस्य गेल्मो शेर्पा, नेपाल महिला संघ जिल्ला अध्यक्ष गिता नेपाल, महाधिवेशन प्रतिनिधि लक्ष्मीदेवी श्रेष्ठ, अपाङ्ग संघका पूर्व केन्द्रीय अध्यक्ष भोजराज श्रेष्ठ र नेता सागर तामाङको नाम थपेर समानुपातिकतर्फ सिफारिस गरेको छ।

राष्ट्रियसभातर्फ काँग्रेस बागमती प्रदेशका सह–महामन्त्री हरिशरण श्रेष्ठ, महासमिति सदस्य भोला बोहरा, ऊर्जा तथा सिँचाइ विज्ञ कृष्ण भण्डारी, युवा नेता बेदबहादुर श्रेष्ठ र महिला नेतृ लक्ष्मी पौडेल सिफारिस भएका छन्। पौडेल सुनकोशी गाउँपालिकाकी पूर्व उपाध्यक्षसमेत हुन्। क्षेत्रले बोहोरा, श्रेष्ठ र जिल्ला सभापति लामाको नाम सिफारिस गरेको थियो । तर, जिल्लाले थप चार जनाकव नाम थपेर सिफारिस गरेको छ । क्षेत्र नम्बर १ मा क्षेत्रीय कार्यसमितिले आव्हान गरेको बैठकमा सहभागी नभएका नेताहरूले जिल्लाबाट सिफारिस गरेका हुन् । क्षेत्रीय समिति बैठकमा  सभापति लामादेखि प्रदेश सह-महामन्त्री श्रेष्ठ, बल्देव तिमल्सिना,  गीता नेपाल, लक्ष्मी पौडेललगायत धेरै नेताहरू सहभागी भएनन् । उनीहरूको सिंधै जिल्लाबाट सिफारिस भएको हो । 

क्षेत्र नम्बर–२
प्रतिनिधिसभा प्रत्यक्षतर्फ क्षेत्र नम्बर–२ बाट १५ जनाको नाम सिफारिस गरिएको छ। क्षेत्रले गरेको १६ जनाको नाममा सभापति लामाले आफ्नो नाम हटाएर अन्यको नाम सिफारिस गरेका हुन् । सिफारिस सूचीको पहिलो नम्बरमा पूर्व केन्द्रीय सदस्य तथा पूर्वमन्त्री विष्णुविक्रम थापा रहेका छन्। उनी राप्रपाबाट काँग्रेसमा समाहित भएका नेता हुन्। दोस्रो नम्बरमा महासमिति सदस्य तथा इन्द्रावती गाउँपालिकाका पूर्व अध्यक्ष वंशलाल तामाङ र तेस्रो नम्बरमा महासमिति सदस्य राजेन्द्रबहादुर गोरखाली रहेका छन्। तामाङ गत जिल्ला अधिवेशनमा पराजित भएका थिए ।  साथै निवर्तमान जिल्ला सचिव विलबहादुर तामाङ, पूर्व जिल्ला कोषाध्यक्ष पासाङ दोङ, बागमती प्रदेशका पूर्व स्वास्थ्यमन्त्री निमा लामा लगायतको नाम पनि सिफारिस सूचीमा समावेश छ।

त्यसैगरी युवा नेता विकास तामाङ, भरत खड्का, उद्दव बानियाँ, तरुण दल उप–सभापति जितबहादुर तामाङ, सूर्यप्रसाद न्यौपाने, भुपेन्द्र थापा, जिल्ला सदस्य राधिका पौडेल, महिला नेतृ जमुना दंगाल र विष्णुप्रसाद घोरासैनीको नाम पनि प्रत्यक्षतर्फ सिफारिस गरिएको छ। यसरी हेर्दा क्षेत्रले कुनै नेताहरूको मन नदुखाउने हिसाबले ज-जसको आउँछ यसकै नाम सिफारिस गरेको जस्तो देखिन्छ । उक्त नामावली जिल्लाले पनि सदर गरेर केन्द्र पठाएको हो । 

प्रतिनिधिसभा समानुपातिकतर्फ महाधिवेशन प्रतिनिधि शिव सुनारको नाम सिफारिस भएको छ । सुनार पूर्व जिल्ला उपसभापति समेत हुन् । महिला नेतृ सानुमाया हिमालय र लक्ष्मी सुनार सिफारिस भएका छन्। हिमालय महाधिवेशन प्रतिनिधि हुन् । क्षेत्रले सिफारिस गरेको नामलाई नै जिल्लाले सदर गरेको छ । राष्ट्रियसभातर्फ वरिष्ठ नेता राजेन्द्रमान ताल्चाभडेल, महाधिवेशन प्रतिनिधि श्री लामा, युवा नेता विष्णु खड्का र महिला नेतृ दया मिश्रको नाम सिफारिस गरिएको जिल्ला कार्यसमितिले जनाएको छ। ताल्चाभडेल रेडक्रस सिन्धुपाल्चोक का सभापति समेत हुन् भने श्री लामा इन्द्रावती -१ का पुर्व वडाध्यक्ष हुन् । त्यस्तै दया कुमारी मिश्र कांग्रेस बागमती प्रतिनिधि हुन् भने इन्द्रावती गाउँपालिका का उपाध्यक्ष को प्रत्यासी समेत हुन्।

पुराना नेता थापा र नेपाल कतै परेनन् 
नेपाली काँग्रेसका पूर्व जिल्ला सभापति भुपेन्द्र थापा र महिना नेतृ लीला नेपालको नाम कतै पनि देखिएन । थापा र नेपाल क्षेत्र नम्बर १ का हुन् । स्रोतका अनुसार क्षेत्रीय समिति बैठकमा उनीहरूलाई सूचनासमेत नदिएको बताइन्छ । यसलाई थापाले पनि स्वीकार गरेका छन् । ‘क्षेत्रको बैठकबारे मलाई थाहा भएन’ उनले भने, ‘जिल्लाको बैठकमा मैले भ्याइन् ।’ जिल्लाका धेरै नेताहरूको नाम उम्मेदवार सिफारिसमा परेपनि पुराना नेताद्वयको नाम नपर्नुले उम्मेदवार सिफारिसमा क्षेत्र र जिल्ला दुवैमा गुटगत गन्ध आएको सहजै अनुमान गर्न सकिन्छ ।

प्रकाशित मिति: सोमबार, मंसिर २९, २०८२  १५:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update