सिन्धुपाल्चोक-नेपाली कांग्रेस सिन्धुपाल्चोक जिल्ला सभापति जंग बहादुर लामा विरुद्ध पार्टीको केन्द्रीय कार्यालय सानेपा, ललितपुरमा औपचारिक उजुरी दर्ता भएको छ।
आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनको सन्दर्भमा नेपाली कांग्रेस केन्द्रीय कार्यालयले विधानअनुसार तीन जनाको नाम सिफारिस गर्न निर्देशन दिएको थियो। सो निर्देशनअनुसार प्रतिनिधिसभा क्षेत्र नं. १ ले प्रत्यक्ष तर्फ नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहन बस्नेतको नाम एकल रूपमा सिफारिस गरेको थियो।
तर उजुरीअनुसार क्षेत्रीय कार्यसमितिको उक्त निर्णयलाई बेवास्ता गर्दै जिल्ला सभापति जंग बहादुर लामाले आफ्नो नाम र महेन्द्र लामाको नाम थप गरी जिल्ला कार्यसमितिको तर्फबाट केन्द्रमा सिफारिस पठाएका थिए। जिल्ला कार्य समिति सिन्धुपाल्चोकका सचिव भक्तध्वज बोहराले कार्यसमितिको बैठक नै नबसी सभापति लामाले एकल सिफारिस गरेको आरोप लगाए । यसलाई पार्टी विधान, निर्णय प्रक्रिया र आन्तरिक लोकतन्त्र विपरीतको कार्य भएको उजुरीकर्ताहरूको आरोप छ।
उजुरी पत्रमा उल्लेख गरिएअनुसार क्षेत्रीय कार्यसमितिको बैठकबाट सर्वसम्मत रूपमा गरिएको निर्णयलाई लत्त्याएर जिल्ला तहबाट एकल निर्णयमार्फत नाम थपिनु गम्भीर विषय भएको भन्दै पार्टी केन्द्रीय कार्यसमितिको गम्भीर ध्यानाकर्षण गराइएको छ।
यस विषयमा आपत्ति जनाउँदै सिन्धुपाल्चोक कांग्रेसका उपसभापति दोर्जे लामा र टंक बहादुर कार्की, सचिव भक्तध्वज बोहोरा, सदस्य रमेशराज भण्डारी तथा सह–सचिव द्वय नरेश कार्की र कृष्ण भक्त नेपालले नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्ण बहादुर खड्कालाई सम्बोधन गर्दै सानेपामा उजुरी पत्र दर्ता गराएका हुन्।
उजुरीमा क्षेत्रीय कार्यसमितिको निर्णयअनुसार उम्मेदवार चयन प्रक्रिया अघि बढाउन, विधानविपरीत गरिएका सिफारिसहरू सच्याउन तथा आवश्यक छानबिन गरी उचित निर्णय लिन माग गरिएको छ।

