Harsamaya
मंसिर २९ : दिनभरका घटनाक्रम एक नजरमा
ग्राफिक्सः हर समय/harsamaya

सरकारले विभिन्न राजनीतिक दल र सरोकारवालासंग वार्ता गर्न उच्चस्तरीय राजनीतिक संम्वाद समिति गठन गरेको छ । सोमबार सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले कानूनमन्त्री अनिल सिन्हाको संयोजकत्वमा उच्चस्तरीय राजनीतिक सम्वाद समिति गठन गर्ने निर्णय गरेको प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।

देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका छ प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ। आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा।

ओली र पोखरेलले गराए उम्मेदवारी दर्ता : नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आ–आफनो उम्मेदवारी दर्ता गराएका छन् । 

काठमाडौँको भृकुटीमण्डपस्थित बन्दसत्र स्थलको केन्द्रीय निर्वाचन आयोगको कार्यालयमा दुवैजनाले समर्थकसहित पुगेर आज आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । अध्यक्ष ओलीले अपराह्न ३:३० बजे र वरिष्ठ उपाध्यक्ष पोखरेलले करिब ३ बजे अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका हुन् । 

प्रधान सेनापति अशोकराज सिग्देलसँग बयान : प्रधान सेनापति अशोकराज सिग्देलसँग जेनजी प्रदर्शनबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले  बयान लिएको छ । आज  प्रधान सेनापति सिग्देलसँगको बयान सकिएको छ । आयोगमा सशस्त्रका महानिरीक्षक राजु अर्याल र नेपाल प्रहरीका आईजीपी दान बहादुर कार्कीको बयान जारी छ । यसअघि आयोगले काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजालसँगको बयान लिएको थियो ।

गौरीबाहादुर कार्की नेतृत्वको आयोगले यसअघि सशस्त्र प्रहरीको कार्य विभागका प्रमुख नारायणदत्त पौडेल र सशस्त्र प्रहरीका डिआइजी सुरेश श्रेष्ठसँग बयान लिइसकेको छ । 

नागरिकको जीवन सहज बनाउन स्वास्थ्य, शिक्षा र रोजगारी कार्यक्रमलाई गौरवको योजना बनायौं :  काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले नागरिकका दैनिक जीवन सहजताको लागि स्वास्थ्य, शिक्षा, रोजगारी प्रवद्र्धन जस्ता कार्यक्रमलाई महानगरपालिकाले गौरवको योजनाको रुपमा कार्यान्वयनमा ल्याएको बताएका छन् ।

३१ औँ महानगर दिवसका अवसरमा सोमबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले काठमाडौं महानगरपालिका आम महानगर बासिको हितका लागि काम गरिरहेको भन्दै नागरिकका दैनिक जीवनसँग जोडिएका र आम सरोकारसँग सम्बन्धित योजना कार्यान्वयनलाई थप प्राथमिकता दिएको बताए ।

उनले भने, ‘काठमाडौं महानगरपालिका आम महानगर बासिको हितका लागि काम गरिरहेको छ । आर्थिक, सामाजिक, पूर्वाधार, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्र र कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्र महानगरपालिकाले नियमित काम गर्ने क्षेत्र हुन् ।

बढ्यो पेट्रोलको मूल्य, डिजेल र मट्टितेलको घट्यो : नेपाल आयल निगमले पेट्रोलको खुद्रा बिक्री मूल्य बढाएको छ । निगमले आजै  राति १२ बजेबाट लागु हुनेगरि  पेट्रोल प्रतिलिटरमा दुई रुपैयाँ मूल्य बढाएको हो । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको नयाँ मूल्य प्राप्त भएको जनाउँदै निगमले पेट्रोल प्रतिलिटरमा दुई रुपैयाँ मूल्य बढाएको हो । डिजेल र मटिट्तेलमा भने प्रतिलिटरमा ४ रुपैयाँ घटाइएको छ । 

निगमले ढुवानी लागत अनुसार देशका विभिन्न भागलाई तीन वर्ग कायम गरेर पेट्रोलियम पदार्थको बिक्री वितरण गर्दै आएको छ ।

पश्चिमा सुरक्षाको ग्यारेन्टी भए नेटो त्याग्न युक्रेन तयार : युक्रेनले पश्चिमा सहयोगीहरूबाट दृढ सुरक्षा ग्यारेन्टी प्राप्त गरेमा नाटोमा सामेल हुने आफ्नो लामो समय देखिको लक्ष्य त्याग्न सक्ने इच्छा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बर्लिनमा अमेरिकी दूत र युरोपेली साझेदारहरूसँगको प्रमुख बैठक अघि व्यक्त गरेका छन् । 

वर्षौं देखि नेटो सदस्यतालाई भविष्यको रूसी आक्रमण विरुद्ध बलियो सुरक्षाको रूपमा अगाडि बढाउने सोच गरेको युक्रेनले यसको सट्टा, संयुक्त राज्य अमेरिका, युरोपेली देशहरू र अन्य सहयोगीहरूबाट कानुनी रूपमा बाध्यकारी सुरक्षा ग्यारेन्टीहरू स्वीकार गर्न सक्ने उनले बताएका छन् ।  

पछिल्लो समयमा युक्रेन र अमेरिका बिचको द्विपक्षीय सुरक्षा ग्यारेन्टी, र युरोपेली सहकर्मीहरू, साथै अन्य देशहरू–क्यानडा, जापानबाट सुरक्षा ग्यारेन्टीहरू अर्को रूसी आक्रमण रोक्ने अवसर भएको बताउदै जेलेन्स्कीले त्यस्ता आश्वासनहरू कानुनी रूपमा बाध्यकारी हुनु पर्ने बताएका छन् ।  

 

 

 

प्रकाशित मिति: सोमबार, मंसिर २९, २०८२  २२:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update