Harsamaya
अमेरिकाको नयाँ राष्ट्रिय सुरक्षा रणनीतिप्रति रुस सकारात्मक

मस्को -अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले सार्वजनिक गरेको नयाँ राष्ट्रिय सुरक्षा रणनीतिलाई रुसले स्वागत गरेको छ। मस्कोले उक्त रणनीति आफ्नो दृष्टिकोणसँग ‘धेरै हदसम्म मेल खाने’ बताएको हो।

यस हप्ता सार्वजनिक गरिएको ३३ पृष्ठ लामो दस्ताबेजमा युरोपले 'सभ्यता मेटाउने' जोखिमको सामना गरिरहेको उल्लेख गरिएको छ र यसले रुसलाई अमेरिकाका लागि खतराको रूपमा चित्रण गरेको छैन।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले सरकारी समाचार एजेन्सी टाससँगको अन्तर्वार्तामा भने, ‘हामीले देखिरहेका समायोजनहरू हाम्रो दृष्टिकोणसँग धेरै हदसम्म मिल्दोजुल्दो छ।’ उनले यसलाई ‘सकारात्मक कदम’ भन्दै मस्कोले थप विश्लेषण गर्ने बताएको छ।

नयाँ रणनीतिले रुसप्रति नरम भाषा अपनाएको छ, जसले युरोपेली अधिकारीहरूलाई चिन्तित बनाएको छ। उनीहरूले युक्रेन युद्ध अन्त्य गर्न पहल गरिरहेका बेला यसले मस्कोप्रतिको युरोपको अडानलाई कमजोर पार्न सक्ने चिन्ता व्यक्त गरेका छन्।

दस्ताबेजमा युक्रेन द्वन्द्व अन्त्य गर्ने अमेरिकी प्रयासलाई युरोपेली सङ्घ (ईयू) ले रोकेको दोष लगाइएको छ र अमेरिकाले ‘रुससँग रणनीतिक स्थिरता पुनर्स्थापित गर्नुपर्ने’ जसले ‘युरोपेली अर्थतन्त्रहरूलाई स्थिर बनाउने’ दाबी गरिएको छ।

रणनीतिमा विदेशी प्रभावसँग जुध्ने, सामूहिक बसाइसराइ रोक्ने र ईयूको कथित सेन्सरसिपको अभ्यासलाई अस्वीकार गर्ने कुरालाई प्राथमिकता दिइएको छ। 

 

प्रकाशित मिति: सोमबार, मंसिर २२, २०८२  ०७:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update