काठमाडौं - दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज लिग चरणको अन्तिम खेल हुँदै छ । लिग चरणको अन्तिम खेलमा आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबिच प्रतिस्पर्धा हुँदै छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी खेलमा आइतबार अपराह्न ३ः३० बजे कर्णाली याक्स र जनकपुर बोल्ट्स भिड्ने भएका हुन् ।
छ खेलबाट समान दुई अङ्क जोडेका यी दुवै टोली प्रतियोगिताबाट बाहिरिइसकेका छन् भने आज प्रतिष्ठाका लागि मात्र खेल्दै छन्।
कर्णालीका कप्तान सोम पाल कामी हुन् भने जनकपुरका आशिफ शेख छन् । जनकपुरले अधिकांश खेलमा कप्तान परिवर्तन गर्दै आएको छ ।
प्रतियोगितामा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स क्वालिफायरका लागि छनोट भएका छन् भने काठमाडौं गोर्खाज र लुम्बिनी लायन्सले इलिमिनेटरमा खेल्दै छन् । एनपीएलमा लिग चरण, तीन वटा प्लेअफ र फाइनलसहित ३२ खेल हुँदै छन् ।

