Harsamaya
बढ्यो जाडो: दोलखा र जुम्लाको तापक्रम ‘माइनस’मा
प्रतिकात्मक तस्वीरः हर समय/harsamaya

काठमाडौं- नेपालमा क्रमशः चिसो बढ्दै गइरहेका बेला दुई जिल्लामा न्यूनतम तापक्रम ‘माइनस’मा झरेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार केही दिनदेखि जुम्लाको न्यूनतम तापक्रम माइनसमा झरेकामा बुधबार दोलखास्थित जिरीको तापक्रम पनि ‘माइनस’मा झरेको हो ।

विभागमा हिजो साँझ रेकर्ड भएको अभिलेखअनुसार जुम्लामा न्यूनतम तापक्रम माइनस पाँच दशमलव दुई डिग्री र दोलखाको जिरीमा न्यूनतम तापक्रम माइनस शून्य दशमलव एकमा झरेको छ । जाडो याम लागिसकेको र चिसो बढ्ने क्रममा रहेको विभागले जनाएको छ । 

विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाले मङ्गलबार र सोमबार जुम्लाको न्यूनतम तापक्रम माइनस दुईदेखि तीनसम्म रहेकामा हिजो तापक्रम घटेर माइनस पाँच दशमलव दुईमा पुगेको हो । 

पछिल्लो एक/दुई दिनमा राति बादल लागेकाले बढी चिसो महसुस भएको छ । दिउँसोमा भने धेरैजसो स्थानमा घाम लाग्दा न्यानो महसुस हुने गरेको छ । 

प्रकाशित मिति: बिहीबार, मंसिर १८, २०८२  ०७:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update