काठमाडौं- मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार (आज) विश्वासको मत लिँदै छन् ।
मंगलबार जनकपुरमा पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री यादवले सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन दिएको परमादेशको प्रति प्रदेश प्रमुखको कार्यालयबाट मंगलबार ३ बजे प्राप्त भएकाले बुधबार दिउँसो २ बजे विश्वासको मत लिन लागेको जानकारी दिएका थिए ।
परमादेशको प्रति प्राप्त भएपछि आफूले विश्वासको मत लिने व्यवस्था मिलाउन प्रदेशसभामा पत्र पठाएको उनको भनाइ थियो ।
सर्वोच्च अदालतले गरेको आदेशको पूर्णपालना गर्न तयार रहेको उनको भनाइ छ । मुख्यमन्त्री यादवले विश्वासको मत लिने क्रममा सबै दलले सहयोग गर्ने दाबी गरेका छन् ।
उनले विभिन्न दलसँग छलफल गरेको र सहयोग गर्ने जानकारी प्राप्त भएको बताएका छन् । विगतमा एमालेले अन्य दललाई सहयोग गरेकाले यसपटक अन्य दलले एमालेलाई समर्थन गर्ने उनको विश्वास छ ।

