Harsamaya
प्रक्रिया नपुगी आफूखुसी उम्मेदवारी घोषणा नगर्न रास्वपाको निर्देशन

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीको आधिकारिक निर्णयविना आफूखुसी उम्मेदवार घोषणा नगर्न आफ्ना नेता तथा कार्यकर्ताहरूलाई निर्देशन दिएको छ।

पार्टीका विभिन्न तहका नेता तथा सदस्यहरूले आफूलाई उम्मेदवारको रूपमा प्रस्तुत गर्ने, आकांक्षा व्यक्त गर्ने वा दाबी गर्नेजस्ता अभिव्यक्ति सार्वजनिक रूपमा दिइरहेको पाइएपछि उम्मेदवार छनोट समितिले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।

समितिका संयोजक विपिन कुमार आचार्यद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'पार्टीबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारको छनोट पार्टीले पारित गरेको आधिकारिक रूपरेखा र विधिअनुसार मात्र हुने स्पष्ट नीति रहेको छ।'

रास्वपाले हालसम्म रुपन्देही निर्वाचन क्षेत्र नं. ३ बाहेक अन्य कुनै पनि क्षेत्रको उम्मेदवार औपचारिक रूपमा तय नभएको स्पष्ट पारेको छ। विज्ञप्तिमा भनिएको छ, 'प्रक्रिया अनुरूप रुपन्देही क्षेत्र नं. ३ का लागि मात्रै उम्मेदवार औपचारिक रूपमा चयन भएको छ। यसबाहेक अन्य कुनै पनि प्रतिनिधिसभा निर्वाचन क्षेत्रका लागि हालसम्म पार्टीको तर्फबाट उम्मेदवार टुंगो लागेको छैन।'

प्रकाशित मिति: मंगलबार, मंसिर १६, २०८२  ०८:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update