चितवन - ग्यास बुलेटको ठक्करबाट आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लमजुङको मध्य नेपाल नगरपालिका–३ की १८ वर्षीया राइना श्रेष्ठ रहेकी छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै गरेको एनएल ०१ एल २४५३ नम्बरको खाली ग्यास बुलेटले बागमती प्रदेश ०६–००५ प ३०५४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा पछाडि सवार श्रेष्ठको मृत्यु भएको हो ।
भरतपुर महानगरपालिका–१० मालपोत चोकमा बुलेटले मोटरसाइकललाई ठक्कर दिएको हो । ठक्करबाट घाइते श्रेष्ठको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो ।
ठक्करबाट मोटरसाइकल चालक मृतकका बुबा ५२ वर्षीय राजकुमार श्रेष्ठ घाइते भएका छन् । उनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । ठक्कर दिने बुलेटका चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।

