काठमाडौं - दुर्गा प्रसाईँ नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले आजबाट हुने भनिएको नेपाल बन्द र अनिश्चितकालीन आमहड्तालका कार्यक्रम फिर्ता लिएको छ । सरकार र नागरिक बचाउ महाअभियान नेपालका प्रतिनिधिबिच शनिबार बालुवाटारमा भएको वार्तामा नेपाल बन्द र अनिश्चितकालीन आमहड्तालका कार्यक्रम फिर्ता लिने सहमति भएको हो ।
वार्तामा महाअभियानले उठाएका २७ बुँदे मागहरूका सन्दर्भमा विस्तृत छलफल भएको थियो । यससँगै आजबाट हुने भनिएको नेपाल बन्द अभियानले फिर्ता लिएको छ ।
छलफलका क्रममा वर्तमान शान्ति सुरक्षाको अवस्थासमेतलाई ध्यानमा राखी नागरिक बचाउ महाअभियानले उठाएका मुद्दाहरूको सम्बोधनका लागि सरकारले निरन्तर छलफल, वार्ता र सहजीकरण गर्दै जाने सहमति समेत भएको जनाइएको छ ।
वार्तामा महाअभियानका तर्फबाट सचिव प्रेमदीप लिम्बु नेतृत्वको टोली सहभागी भएको थियो। साथै अधिवक्ताद्वय विनोदमणि भट्टराई, लवण न्यौपाने र डा नीराजन प्रसाईँ पनि वार्ता सहभागी भएका थिए ।
सरकारका तर्फबाट गृहमन्त्री ओमप्रकाश अर्याल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल र सल्लाहकार गोविन्दनारायण तिमिल्सिना लगायतको उपस्थिति थियो।

