धरान - सुनसरीको दुहबी नगरपालिका–८, सोनापुरस्थित जुटमिलमा आगलागी भएको छ । राजकुमार गोल्छाले सञ्चालन गर्दै आएको उक्त जुटमिलमा शनिबार (मंसिर ६) अपराह्न करिब ४:३५ बजे लागेको आगो अझै नियन्त्रणमा नआएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता चन्द्र खड्काले जानकारी दिए ।
उनले भने, “धागो भएकाले सजिलै सल्किने सामग्री अधिक मात्रामा रहेकाले आगो भित्री भागबाट तीव्र रूपमा फैलिएको छ, जसले नियन्त्रणमा कठिनाइ भएको हो ।”
आगलागीबाट भएको क्षतिको विवरण हाल अनुमान गर्न नसकिने उनले बताए । आगो नियन्त्रणका निम्ति सुनसरीका करिब १५–२० प्रहरीका साथै विराटनगर, दुहबी, देवाङगञ्ज, रामधुनी, सुन्दरहरैँचा, बराहक्षेत्र र धरानबाट गरी आठ दमकल परिचालन गरिएको प्रवक्ता खड्काले जानकारी दिए । उनका अनुसार, दमकल तथा सुरक्षाकर्मीको संयुक्त प्रयासमा आगो नियन्त्रण कार्य जारी छ ।
आगलागी कसरी भयो भन्ने पत्ता लाग्न नसकेको उनले बताए । विद्युत् सर्ट भएर आगो लागेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको उनले उल्लेख गरे । उनले आगो पूर्ण रूपमा नियन्त्रणमा आएपछि विस्तृत विवरण संकलन गरिने जानकारी दिए ।

