भैरहवा - रूपन्देही जिल्लाको दक्षिण भेगमा अवस्थित मर्चवारी गाउँपालिकाको नाम र केन्द्र परिवर्तन भएको छ । मङ्सिर २ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार गाउँपालिकाको नाम ‘मर्चवारी गाउँपालिका’ बाट परिवर्तन गरी ‘मर्चवारीमाई गाउँपालिका’ कायम गरिएको छ ।
यसका साथै, गाउँपालिकाको केन्द्र पनि साविकको वडा नं ३ रायपुरबाट परिवर्तन गरी वडा नं ४ खैरामा सारिएको छ । गाउँपालिकाको आधिकारिक स्रोतका अनुसार यस क्षेत्रको ऐतिहासिक एवं धार्मिक महत्व बोकेको मर्चवारीमाई भगवतीको मन्दिरलाई आत्मसात गर्दै गाउँपालिकाको पहिचानलाई अझ बलियो बनाउन ‘मर्चवारीमाई’ नाम राखिएको हो । यो मन्दिर यस क्षेत्रको पुरानो धार्मिक स्थलमध्ये पर्दछ ।
गाउँपालिकाको प्रशासनिक केन्द्र वडा नं ४ खैरामा सरेसँगै यस क्षेत्रका स्थानीय बासिन्दालाई सेवा लिन थप सहज हुने अपेक्षा गरिएको छ । साविकको केन्द्र रायपुरबाट खैरामा सारिएको यो निर्णयले गाउँपालिकाभित्रका सबै वडाका जनताको पहुँचलाई मध्यनजर गरेको गाउँपालिका अध्यक्ष गयाप्रसाद बरईले जानकारी दिए । उनले लामो समयदेखि यो प्रस्तावमन्त्री परिषद्मा पठाइएको र अहिले यस विषयमा निर्णय आएको बताए ।
केन्द्र परिवर्तन नभएकै कारण हालसम्म पालिकाको आफ्नै प्रशासनिक भवनसमेत निर्माण हुने सकेको छैन । “यस परिवर्तनले गाउँपालिकाको प्रशासनिक तथा भौगोलिक संरचनामा नयाँ अध्याय थपेको छ, जसलाई कार्यान्वयन गर्न अब गाउँपालिकाले आवश्यक तयारी गर्नेछ‚”अध्यक्ष बरईले भने ।

