एजेन्सी - गत वर्ष विद्यार्थी विद्रोहमाथि गरिएको दमनका कारण अपदस्थ प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय सुनाइएपछि पनि मंगलबार बङ्गलादेशको राजधानी ढाका तथा प्रमुख सहरहरू सामान्यरूपमै सञ्चालनमा रहेका छन् । उनको पूर्व सत्तारूढ अवामी लिग पार्टीले देशव्यापी बन्दको आह्वान गरे पनि सेवासुविधा, पसल तथा विद्यालयहरू खुल्लै रहे ।
अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले गएको वर्षका विद्यार्थी आन्दोलनहरूलाई लक्षित गर्दै घातक बल प्रयोग गरेको आरोपमा हसिना तथा पूर्व गृहमन्त्री असदुज्जमान खानलाई सोमबार अनुपस्थितिमै मृत्युदण्डको सजाय सुनाएको थियो । अदालतको फैसलापछि अवामी लिगले यसलाई ‘कङ्गारू अदालत’ भन्दै अस्वीकार गर्यो र भोलिपल्ट देशव्यापी बन्दको घोषणा गर्यो ।
सोमबार ढिलोसम्म हसिनाका विरोधीहरू र सुरक्षा निकायहरूबीच झडप भयो । विरोधीहरूले शेख मुजीबुर रहमानको ऐतिहासिक घर भत्काउन उत्खनन प्रयोग गर्ने प्रयास समेत गरे । यसैबीच, पूर्व राष्ट्रपति अब्दुल हमिदको किशोरगञ्जस्थित घरमा तोडफोड गरिएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
तर मङ्गलबार सहरमा शान्त वातावरण देखियो । ढाकाका व्यापारी मोहम्मद साइकोट हुसेनले ‘यहाँ वास्तविक कानूनको शासन नै छैन’ भन्दै आफ्ना सन्तानहरूको भविष्यप्रति गहिरो चिन्ता व्यक्त गरे । उनले विगतदेखि हालसम्म सत्तामा बसेकाहरूले कानूनलाई मनपरी ढङ्गले प्रयोग गर्दै आएको टिप्पणी गर्दै भने, ‘हाम्रा छोराछोरीहरू यस्तै वातावरणमा हुर्किरहेका छन्—न लक्ष्य छ, न भविष्य । उनीहरू कहाँ पुग्लान् भन्नेमा म अत्यन्तै चिन्तित छु ।’
७८ वर्षीया हसिनालाई मानवता विरुद्धको अपराधसम्बन्धी पाँच अभियोगमा दोषी ठहर गरिएको हो । विद्यार्थी प्रदर्शनकारीहरू विरुद्ध उत्तेजक निर्देशन जारी गरेको, हेलिकप्टर, ड्रोन तथा घातक हतियार प्रयोग गर्न आदेश दिएको आरोपमा उनलाई प्राकृतिक मृत्यु नहुँदासम्म कैदको सजाय सुनाइएको छ । एक पूर्व प्रहरी प्रमुखले राज्य साक्षी बनेपछि उनलाई पाँच वर्षकै कैद सजाय सुनाइएको थियो ।
बङ्गलादेशले सन् २०२४ को जुलाई–अगस्टमा सरकारी जागिरको कोटा प्रणालीविरुद्ध विद्यार्थी नेतृत्वमा व्यापक विरोध प्रदर्शन भोगेको थियो । आलोचकहरूले उक्त प्रणाली हसिनाको पार्टी–सम्बद्धहरूलाई फाइदा हुने गरी लागू गरिएको आरोप लगाएका थिए । अन्तरिम सरकारले ती आन्दोलनहरूमा ८०० भन्दा बढी व्यक्तिको मृत्यु भएको र १४ हजार घाइते भएको जनाएको छ । संयुक्त राष्ट्रसङ्घले भने मृतक सङ्ख्या एक हजार ४०० हाराहारी रहेको अनुमान गरेको थियो ।

