काठमाडौं - फागुन २१ गते घोषणा गरिएको प्रतिनिधि सभाको निर्वाचनका लागि एकीकृत निर्वाचन सुरक्षा योजना–२०८२ स्वीकृत गरिएको छ ।गृहमन्त्रीको अध्यक्षतामा आइतबार बसेको चार वटै सुरक्षा निकायसहितको बैठकले एकीकृत निर्वाचन सुरक्षा योजना–२०८२ स्वीकृत गर्ने निर्णय गरेको हो ।
गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार बैठकले एकीकृत निर्वाचन सुरक्षा योजना–२०८२ को प्रस्ताव अनुसार नेपाली सेना परिचालनको विषयमा समेत निर्णय भएको छ । उनले नेपाली सेना परिचालनका लागि राष्ट्रिय सुरक्षा परिषद्मा सिफारिस गर्ने र त्यसका लागि रक्षा मन्त्रालयमा लेखेर पठाउने निर्णय भएको छ।
“विभिन्न कार्य योजनासहितको एकीकृत निर्वाचन सुरक्षा योजना–२०८२ स्वीकृत गरेको छ र यो अनुसार क्रमशः कार्यान्वयनमा जान्छ । एकीकृत निर्वाचन सुरक्षा योजना–२०८२ ले नेपाली सेना परिचालन गर्ने विषयमा प्रस्ताव गरेको छ । सो अनुसार नेपाली सेना परिचालन गर्नका लागि राष्ट्रिय सुरक्षा परिषद् समक्ष सिफारिस गर्ने प्रयोजनको लागि रक्षा मन्त्रालयमा लेखी पठाउने भन्ने छ‚” उनले भने ।
उनले मङ्सिर ९ गते लुम्बिनी प्रदेशबाट प्रदेशस्तरीय सुरक्षा गोष्ठी सञ्चालन गर्ने समेत बताए । “निर्वाचनलाई लक्षित गरी प्रदेशस्तरीय सुरक्षा गोष्ठी सञ्चालन गर्ने भनेका छौ । पहिलो सुरुवात चैँ लुम्बिनी प्रदेशमा मङ्सिर ९ गते निर्वाचनलाई लक्षित गरेर सुरक्षा गोष्ठी गने जसमा जिल्लागत र प्रदेशगत भएका सुरक्षाका चुनौतीहरू उहाँहरूको निर्वाचनको तयारीको अवस्थामा व्यापक छलफल गर्छौँ,” उनले भने ।
बैठकमा नेपाल प्रहरी महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्की र नेपाली सेनाका रथी सहभागी थिए।

