Harsamaya
कात्तिक २८ : दिनभरका घटनाक्रम एक नजरमा
ग्राफिक्सः हर सयम/harsamaya

निर्वाचन आयोगले प्रतिनिधिसभा र राष्ट्रिय सभा निर्वाचन लड्न चाहने दललाई दल दर्ताकोलागिआह्वान गरेको छ ।मङ्सिर १ गतेदेखि १० गतेसम्म र राष्ट्रिय सभा निर्वाचन लड्न चाहनेलाई मङ्सिर १ गतेदेखि ७ गतेसम्म दल दर्ता गर्न निर्वाचन आयोगले आह्वान गरेको हो । निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न कात्तिक ३० गतेभित्र दल दर्ताको प्रमाणपत्र लिइसकेको हुनुपर्ने आयोगले जनाएको छ ।

देश–विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका छ प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ। आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा।

प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए आ-आफ्नो सम्पत्ति विवरण: प्रधानमन्त्री सुशीला कार्कीसहित १० जना मन्त्रीले आआफ्नो सम्पत्ति विवरण बुझाएका छन् । प्रधामन्त्री तथा परिषद् कार्यालयका अनुसार प्रधानमन्त्री, परराष्ट्र, रक्षा, खानेपानी; महिला, बालबालिका तथा ज्येष्ठ नागरिक; वन तथा वातावरण; संस्कृति, पर्यटन तथा नागरिक उड्डयन; श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री  कार्कीसहित अर्थ, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री रामेश्वरप्रसाद खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइ; भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले सम्पत्ति विवरण बुझाएका हुन् ।

मधेशमा अझै उमेर नपुग्दै विवाह गर्ने चलन: कानुनी कडाई र निरन्तर जनचेतनामूलक अभियान चलाइँदै आएको भए पनि मधेसमा उमेर नपुगी विवाह हुने सङ्ख्या अझै विकराल अवस्थामा छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको पछिल्लो विवरणले उमेर नपुग्दै हुने विवाहको दर मधेसमा अन्य प्रदेशको तुलनामा अझै धेरै रहेको पाईएको छ। २०७८ को जनगणनाबाट तयार पारिएको प्रतिवेदन अनुसार मधेसमा १० वर्ष नपुग्दै विवाह हुने घटनासमेत दर्ता भएका छन्। यस्तै यस्तो उमेर समूहको विवाहको दर ०.२ प्रतिशत रहेको उल्लेख छ। १० देखि १४ वर्ष उमेरका बालबालिकामध्ये ९.३ प्रतिशतले विवाह गरेको पाइएको छ भने १५ देखि १७ वर्ष उमेरको समूहमा यो दर २७.७ प्रतिशत पुगेको छ।

पाँच दिन समय थप: निर्वाचन आयोगले मतदाता नामावली दर्ताका लागि पाँच दिन समय थपेको छ । आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै आयोगले मतदाता नामावली दर्ता कार्य सञ्चालन गरिरहेको छ । यसअघि आयोगले कात्तिक ३० गतेसम्म मात्र दर्ता खुला रहने निर्णय गरेको थियो । अब मंसिर ५ गतेसम्म मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था गरिएको छ । प्रधानमन्त्री सुशीला कार्कीले मतदाता नामावलीमा नाम दर्ता गर्ने समय थप गर्न आयोगलाई आग्रह गरेकी थिइन् ।

परियारले छाडे रास्वपा: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सचिवालय सदस्य  तथा पूर्व सांसद सन्तोष परियारले पार्टी छाडेका छन्। रास्वपाबाट निवर्तमान प्रतिनिधि सभा प्रमुख सचेतक तथा समानुपातिकतर्फ निवर्तमान सांसद रहेका परियारले शुक्रबार रास्वपा छाडेका हुन्।  उनले  कार्यवाहक सभापति तथा महामन्त्री डीपी अर्याललाई राजीनामा पत्र बुझाएर पार्टी छोडेको  जानकारी गराएका हुन् । निरन्तर पार्टीमा विचारको बहस गरिरहँदा पनि त्यसलाई स्थापित गर्न नसकेको भन्दै उनले त्यसलाई आफ्नो कमजोरीको रूपमा लिएको बताएका छन् । साथै नेपाली समाजको बनावट र चरित्र अनुसारको पार्टीको विचार निर्माण गर्न नसकेकोमा पनि आफू दुःखी रहेको पनि उनले राजीनामा पत्रमा उल्लेख गरेका छन् ।

नेपाली कम्युनिष्ट पार्टीलाई दल दर्ताको प्रमाणपत्र: निर्वाचन आयोग नेपालले आज नेपाली कम्युनिष्ट पार्टीलाई दल दर्ताको प्रमाणपत्र प्रदान गरेको छ । नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)सहितका १२ वटा वाम समूह मिलेर गठन भएको नेपाली कम्युनिष्ट पार्टीलाई निर्वाचन आयोगले आज दल दर्ताको प्रमाणपत्र प्रदान गरेको सो पार्टीका नेता लिलामणि पोखरेलले जानकारी दिए । गत कात्तिक १९ गते माओवादी केन्द्र, एकीकृत समाजवादीलगायतका पार्टीबीच एकता घोषणा गर्दै नयाँ पार्टी गठन गरिएको थियो । उक्त पार्टीको संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ छन् ।

कारागारका १९८ कैदीबन्दी अझै फरार:  जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते कास्की कारागारबाट भागेकामध्ये १९८ जना कैदीबन्दी अझै फरार रहेका छन् । आन्दोलनका क्रममा कारागारको बन्दीगृहबाट फरार भएका ७७३ जना मध्येमा कोही आफैँ फर्किएको र केहीलाई प्रहरीले पक्राउ गरेको थियो । कारागार नफर्कि हालसम्म फरार रहेका मध्येमा १८७ जना पुरुष र ११ जना महिला रहेको कारागारका प्रशासक राजेन्द्र शर्माले जानकारी दिए । उनका अनुसार उनीहरू मध्येमा १३ जना विदेशी रहेका छन् । विदेशीहरूमा ११ जना भारतीय र दुई जना चिनियाँ रहेका छन् ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २८, २०८२  २१:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update