जनकपुर - मधेश प्रदेशसभाका सभामुख रामचन्द्र मण्डललाई पदमुक्त गर्न माग गर्दै ७ दलले अविश्वासको प्रस्ताव दर्ता गराएका छन् ।
मधेश प्रदेशसभाका ७४ सांसदले सभाखुको सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् । मधेशमा १०४ जना सांसद छन् । जसमा १ निलम्बन र सभामुखसहित एमालेका २५ जना छन् । सभामुखमाथि अविश्वास प्रस्तावका लागि कांग्रेस, जनमत, जसपा नेपाल, लोसपा नेपाल, नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्रसहित दलहरूले दुई तिहाइ पुग्छ ।
तत्कालीन मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार (सोनल) ले विश्वासको मत लिने समयमा नेकपा माओवादी केन्द्रका दुई सांसद रहबर अन्सारी र माला कर्णलाई बोल्ने मौका दिएर सभामुखले मुख्यमन्त्रीले विश्वासको मत लिने वातावरण बिगारेको र त्यसपछि विश्वासको मत परीक्षण गर्ने वातावरण नै नबनाएको सात दलको आरोप छ । सभामुख मण्डल एमालेबाट निर्वाचित सांसद हुन् ।

