सिन्धुपाल्चोक - नेपाली कांग्रेसका सिन्धुपाल्चोकका पूर्व जिल्ला सचिव तथा महाधिवेशन प्रतिनिधि बिल बहादुर तामाङले देशलाई वर्तमान असहज राजनीतिक अवस्थाबाट निकाल्न ताजा जनादेश अपरिहार्य भएको बताएका छन्।
तामाङले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै कुनै पनि दलले अब अलमलिने समय नरहेको उल्लेख गरे। विशेष गरी कांग्रेसले नयाँ नेतृत्वसहित जनतामा जानुपर्ने आवश्यकता उनले जोड दिए।
“देश आज असहज अवस्थामा छ। यो अवस्थालाई सहज मार्गतर्फ लैजान सबैभन्दा उचित उपाय निर्वाचन नै हो,” तामाङले फेसबुकमा लेखेका छन्। उनका अनुसार देशभक्त, जिम्मेवार र जबाफदेही सरकार निर्माणको आधार पनि ताजा जनादेशबाट तयार हुन्छ। नयाँ पुस्ता, विशेषतः जेनजीका माग र अपेक्षाहरू निर्वाचित संसद् र उत्तरदायी नेतृत्वबाटै पूरा हुनसक्ने तामाङको भनाइ छ।
“अब सरकार गम्भीर भएर निर्वाचनको तयारीमा लाग्नुपर्छ। ताजा जनादेशबाट देशले स्थिरता, स्पष्टता र प्रभावकारी मार्गचित्र पाउँछ‚” उनले थपे ।

