काठमाडौं - नेपाल ट्रेड युनियन काँग्रेसले श्रमिकका आन्दोलन र जेनजी पुस्ताहरुको मागलाई सम्बोधन गर्दै तत्काल अघि बढ्नसरकारलाई अनुरोध गरेको छ ।
सोमबार पत्रकार सम्मेलन गर्दै युनियनले १३ बुँदे माग गर्दै निकट भविष्यमा हुन गइरहेको राष्ट्रिय सभा र प्रतिनिधि सभाको निर्वाचनमा जेनजी आन्दोलनको भावना अनिवार्य रुपमा नव युवा समूह र श्रमिकहरुको प्रतिनिधित्व हुनेगरी कानुनी व्यवस्था गर्न समेत माग गरेको छ ।
ट्रेड युनियन कांग्रेसका महासचिव अजयकुमार राईले डिजिटलाईजेशन, सुशासन, भ्रष्टाचार नियन्त्रण, रोजगारी प्रबद्र्धन, नातावाद तथा बेथितिको अन्त्य गर्न युनियनले यसअघि नै पटक पटक माग उठाउँदै आएको भएपनि तत्कालीन अवस्थामा सरकारले नसुनेको बताए ।
तर हाल नव युवाहरु विभिन्न मागहरुसहित प्रदर्शनमा आएका कारण राजनीतिक परिदृश्य परिवर्तन भएकाले अब ति मुद्दाहरुलाई सम्बोधन गर्नेगरी तत्काल अघि बढ्न उनले अनुरोध गरे ।
महासचिव राईले आगामी निर्वाचनमा स्वदेश तथा विदेशमा कार्यरत श्रमिकहरुले आफ्नो कार्यस्थलबाट नै मतदान गर्न पाउने अधिकार सुनिश्चित गर्न निर्वाचन आयोगलाई विशेष ध्यानाकर्षण समेत गराए । त्यस्तै नेपालको संविधानको धारा ४२ (क) को मर्म अनुरुप नव युवा तथा श्रमिकहरुलाई पनि समावेशी स्वरुप संसदीयलगायत सबै प्रकृतिको निर्वाचनहरुमा बेग्लै क्लष्टर बनाउन सम्बन्धित सरकार र निर्वाचन आयोगमा अनुरोध गर्ने निर्णय भएको पनि सुनाए ।
नेपाली काँग्रेस निकट ट्रेड युनियन कांग्रेसले नियमित महाधिवेशनका पक्षमा जोड दिएको छ । संगठनले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘वर्तमान कार्य समितिको पदावधिको समय यही २०८२ मंसिर भित्र मात्र रहेको र आगामी महाधिवेशनको मितिलाई लिएर नेपाली काँग्रेसको लामो समयदेखी चलिरहेको निरन्तरको बैठकप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।
आगामी निर्वाचनमा नेपाली काँग्रेसलाई सशक्त बनाउन नयाँ नीति र ताजा नेतृत्व सहित सहभागी हुनु बुद्धिमानी हुन्छ भन्ने हाम्रो ठहर छ । त्यसर्थ महासंघ आम निर्वाचनपूर्व एकिकृत रुपमा सहमतीका साथ विधानका साथै संविधानको मुलमर्म अनुसार सबै वर्गहरुको सहभागिता हुने गरी यथाशिघ्र महाधिवेशन गर्ने निर्णय लिन नेपाली काँग्रेसको केन्द्रीय समितिलाई आव्हान गर्दछ । नेपाली कांगे्रसको निर्णय विहिनताले मुलुक पनि दिशाविहीन भएको समेत महासंघको ठहर रहेको छ ।’
त्यस्तै कांगे्रसको विशेष जिम्मेवारीमा रहेका शीर्ष नेतृत्वहरु बाहेक प्रत्यक्ष तथा समानुपातिकतर्फ दुई पटक भन्दा बढि संसदीय प्रतिनिधिको रुपमा अवसर पाइसकेकाहरुलाई संगठनको जिम्मेवारी दिई दोहोरो जिम्मेवारी नहुनेगरी युवा, महिला र श्रमिक वर्ग समेत समावेशी रुपमा समेट्ने गरी उम्मेद्वारहरु तय गर्ने नीति लिन समेत अनुरोध गरेको छ ।
कार्तिक २१ र २२ गते काठमाडौंमा सम्पन्न महासंघको राष्ट्रिय कार्य समितिको बैठकले गरेका निर्णय सुनाउन आयोजित पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष योगेन्द्र कुमार कुँवरले पनि सम्बोधन गरेका थिए ।

