काठमाडौं - नेपाल ट्रेड युनियन काँग्रेसका प्रतिनिधिहरूले काँग्रेस नेता डा. शेखर कोइरालासँग भेटवार्ता गरेका छन् । उनीहरूले आगामी निर्वाचन अगावै पार्टीको १५ औँ महाधिवेशन गर्न सुझाव दिएका छन् ।
ट्रेड युनियन काँग्रेसको गत कार्तिक २१ र २२ गते सम्पन्न केन्द्रीय समितिको बैठकले गरेको १३ बुँदे निर्णयहरू नेता डा. कोइरालालाई बुझाउँदै काँग्रेसको चालु बैठकबाट सम्बोधन गर्दै कार्यान्वयनका लागि पहल गरिदिन आग्रह समेत गरे ।
महासंघकातर्फबाट अध्यक्ष योगेन्द्र कुँवरको टोलीले डा.कोइरालासँग भेटवार्ता गर्दै ज्ञापन पत्र बुझाएको हो । आगामी फागुन २१ गतेको घोषित आम निर्वाचनमा सबै सहभागी हुनुपर्ने र त्यसका लागि काग्रेस ले नेतृत्वदायी भूमिका खेल्नुपर्नेमा कुँवरले जोड दिएका थिए ।
बिहीबारको भेटमा टोलीले काँग्रेसले ताजा नीति तथा नेतृत्वसहित नियमित महाधिवेशन गर्दै आम निर्वाचनमा जानुपर्ने, स्वदेश तथा विदेशमा रहेका श्रमिकहरूलाई कार्यस्थलबाट नै निर्वाचनमा मतदानको लागि व्यवस्था गर्नुपर्ने, जेनजी आन्दोलन पश्चताको उद्योग कलकारखाना, पर्यटन तथा उद्योग कलकारखाना क्षेत्रका प्रतिष्ठानहरूमा प्रचलित कानुनलाई उल्लङ्घन गर्दै प्रतिष्ठानहरू बन्द गर्ने खालको समस्यालाई सरकारले तथा राजनीतिक दलहरूले गम्भीरताका साथ लिनुपर्ने लगायतका मागहरू पनि डा.कोइरालालाई बुझाएको थियो ।
त्यस्तै संविधानको मुल मर्म अनुसारको श्रमिकहरूको क्लष्टरलाई समेत पार्टी तथा सबै प्रकृतिका निर्वाचनहरूमा समावेश गर्नुपर्ने लगायतका १३ बुँदे निर्णीत बुँदाहरू डा.कोइरालालाई हस्तान्तरण गरिएको अध्यक्ष कुँवरले जानकारी दिए । उक्त निर्णयहरू पूर्व अध्यक्ष र सल्लाहकारहरू सहितको राष्ट्रिय समितिको बैठकले सर्वसम्मत रूपले निर्णय गरेको हो ।
ज्ञापन पत्र बुझ्दै नेता कोइरालाले सर्वप्रथम त एकीकृत तथा सर्वसम्मत तवरले आफ्नो धारणा ल्याएकोमा महासङ्घलाई धन्यवाद दिँदै सबै निर्णयहरू कार्यान्वयनका लागि सहजीकरण गर्ने प्रतिबद्धता जनाएका थिए । उनले आगामी पुसभित्र नियमित महाधिवेशन हुनुपर्नेमा जोड दिए । ज्ञापन पत्र वाचन गर्दै महासंघका महासचिव अजय कुमार राईले अहिलेको अवस्थाप्रति अत्यन्तै गम्भीर रहेको भन्दै बेरोजगारीहरूको सङ्ख्या बढेको, उद्योग कलकारखाना बन्दको अवस्थामा पुगेको, पुँजी पलायन हुने खतरा बढेकाले काँग्रेसले गम्भीर भएर काम गर्नुपर्ने औँल्याए ।
काँग्रेसभन्दा जेठो संस्थाका रूपमा क्रियाशील उक्त सङ्गठनमा चार लाख सदस्य बढी सदस्य छन् । ट्रेड युनियन काँग्रेसमा २७ वटा पेसाकर्मी श्रमिक सङ्गठनहरू आबद्ध छन् । दुई दिन अगाडि महासंघले नेपाली काँग्रेसका कावा सभापति पूर्ण बहादुर खडकालाई ज्ञापन पत्र समेत बुझाई सकेको छ ।

