Harsamaya
मधेश प्रदेशका नवनियुक्त प्रदेश प्रमुख डा.लाभद्वारा पदभार ग्रहण

 

जनकपुर - मधेस प्रदेशका नवनियुक्त प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले पदभार ग्रहण गरेका छन् । डा. लाभलाई नेपाली सेनाको टोलीले सलामी दिएर मधेस प्रदेश प्रमुख कार्यालयमा स्वागत गरेका छन् । सो क्रममा मधेस प्रदेशका सुरक्षा निकायका उच्च पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

पदभार ग्रहण गर्दै प्रदेश प्रमुख डा.लाभले आफूलाई जिम्मेवारी बोध भएको अनुभूति भइरहेको बताए । उनले सम्पूर्ण जनता, सांसद, सुरक्षाकर्मी, सञ्चारकर्मीलगायत सबैलाई मिलेर प्रदेश बनाउनुपर्ने धारणा राखे । डा.लाभले विधिको शासनलाई सबैले मान्नुपर्ने बताए ।

उनले आफू जनकपुरधामकै भएकाले मधेस प्रदेशको हरेक पक्ष र समस्याहरूसँग आफू परिचित रहेकोले काम गर्न सहज हुने बताए । डा.लाभले हाल मुख्यमन्त्री सरोज कुमार यादवको नियुक्तिसँग उम्रिएको विवाद अदालतमा पुगिसकेकाले अदालतले गर्ने निर्णय नै मान्य हुने प्रस्ट पारे ।

मुख्यमन्त्री यादवको नियुक्तिको विषयमा उत्पन्न विवाद पश्चात् मधेस प्रदेशकी पूर्वप्रमुख सुमित्रf सुवेदी भण्डारीलाई पदमुक्त गरिएपछि डा.लाभलाई सिफारिस गरिएको थियो । मङ्गलवार राष्ट्रपति राम चन्द्र मण्डलले डा.लाभलाई शपथ ग्रहण गराएका थिए ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २७, २०८२  १८:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update