Harsamaya
कात्तिक २६ : दिनभरका घटनाक्रम एक नजरमा
ग्राफिक्सः हर समय/harsamaya

गृह मन्त्रालयले  सात जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)सहित ५८ जना सहसचिव तथा उपसचिवको सरुवा गरेको छ। बुधबार मन्त्रालयले ५८ जना सहसचिव तथा उपसचिवको सरुवा गरेको हो ।

देश–विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका छ प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ। आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा।

आयोगका पदाधिकारीले जानकारी गराए निर्वाचनको प्रगति

प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगका पदाधिकारीहरूसँग आगामी निर्वाचनको तयारीका विषयमा छलफल गरेकी छन् । आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी, आयुक्तद्वय जानकारी तुलाधर, सगुनशमशेर राणा र अन्य अधिकारीहरू समेतको टोली छलफलका लागि बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगेको थियो । आयोगले निर्वाचन तयारीअन्तर्गतका ६० प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको र हालसम्मको मूल्यांकनमा आउँदो फागुन २१ गते निर्वाचन सम्पन्न गर्न सकिने विश्वास रहेको जानकारी दिएको छ । आयोगमा दर्ता रहेका र वडा सदस्यसम्म मात्र पनि विजय भएका दलहरूसँग छलफल गर्दा हालसम्म कसैले पनि निर्वाचनमा भाग लिन नसकिने भन्ने भाव व्यक्त नगरेको कार्यवाहक प्रमुख आयुक्त भण्डारीले जानकारी दिए ।

वैधताबारे लिखित जवाफ माग

सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवको नियुक्तिको वैधताबारे कारण देखाउ आदेश गर्दै लिखित जवाफ माग गरेको छ ।न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासले आज मुख्यमन्त्री यादवलाई १५ दिनभित्र महान्यायाधिवक्ता कार्यालयमार्फत लिखित जवाफ माग गर्ने आदेश गरेको हो । मुख्यमन्त्री यादवविरूद्ध कृष्णप्रसाद यादवसहित मधेस प्रदेशका ७४ जना सांसदहरूले दायर गरेको रिट निवेदनको आज प्रारम्भिक सुनुवाइ गरेको हो । अदालतले यही कात्तिक ३० गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।

भागेको भए सबै खरानी हुने थियो

सुशीला शाही कैलालीको लम्कीचुहा नगरपालिकाकी मेयर हुन् ।  सुदूरपश्चिम प्रदेशभरि नै मेयर जित्ने उनी दोस्रो महिला हुन् । नेपाली कांग्रेसबाट टिकट पाएर मेयरमा  निर्वाचित भएपछि शाहीले नगरपालिकालाई नमूनाका रुपमा विकास गरिरहेकी छिन् । हालै जेनजी आन्दोलनका क्रममा आफैं मैदानमा उभिएर भौतिक संरचना जोगाएर चर्चा पाएकी मेयर शाहीसँग गरिएको कुराकानी ।

नेप्से २०.५६ अंकले घट्यो

बुधबार नेप्से परिसुचक २०.५६ अंकले घटेर २५४४.५९ विन्दुमा झरेको छ । यसअघि मंगलबारको बजारमा नेप्से परिसुचक ३.२१ अंकले बढेर २५६५.१६ विन्दुमा उक्लिएको थियो । यसअघि सोमबारको बजारमा नेप्से परिसुचक ५.८० अंकले घटेर २५६०.२९ विन्दुमा झरेको थियो । आज नेप्से घटेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा सामान्य सुधार भएको छ । मंगलबारको बजारमा ३ अर्ब ६२ करोड ६१ लाख ७५ हजार रुपैयाँको ७९ लाख ४७ हजार कित्ता सेयर कारोबार भएकोमा आज भने कुल ३२१ स्टकको ३ अर्ब ८४ करोड ८५ लाख ८६ हजार रुपैयाँको ८४ लाख ४ हजार ६ सय कित्ता सेयर किनबेच भएको छ । यो किनबेच ६६ हजार ८२४ पटकको कारोबारमा भएको हो ।

१३३ जना श्रमिक कटौती

हयात रिजेन्सी काठमाडौंले आर्थिक सङ्कटका कारण होटेलका १३३ जना श्रमिक कटौती गर्ने निर्णय गरेको छ । होटेल व्यवस्थापनले बुधबार एक सूचना जारी गर्दै श्रम ऐन २०७४ को दफा १४५ अनुसार श्रमिक कटौतीको जानकारी गराएको हो । सूचनामा जनाइए अनुसार, २०७९ भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको तोडफोड, लुटपाट र आगलागीका कारण होटलको सञ्चालन ठप्प भएको र त्यसपछिका विभिन्न आर्थिक तथा व्यवस्थापकीय कठिनाइका कारण होटेले आंशिक रूपमा मात्रै सेवा दिइरहेको उल्लेख गरिएको छ । कोभिड–१९ महामारी र त्यसपछिका आर्थिक असरका कारण होटेले ठूलो घाटा व्यहोर्नु परेको भन्दै व्यवस्थापनले अहिलेको अवस्थामा सम्पूर्ण श्रमिकलाई कायम राख्न नसक्ने जनाएको छ । 

सुत्केरी आमा र शिशुको उद्धार

उत्तरी गोरखाबाट एक सुत्केरी र शिशुको उद्धार गरिएको छ । सडक सञ्जालले नजोडेको चुमनुब्री गाउँपालिका–६ ताजुबाट सुत्केरी रिञ्जिन पाल्मो लामालाई शिशुसहित आज उद्दार गरिएको हो। उनीहरूलाई सिम्रिक एयरको हेलिकप्टरबाट उद्धार गरी गण्डकी अस्पताल पोखरा लगिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रेम गुरुङले जानकारी दिए । गण्डकी प्रदेशको जोखिममा परेका सुत्केरी तथा गर्भवती महिलाको हवाई उद्धार कार्यक्रमअन्तर्गत उद्धार गरिएको स्वास्थ्य शाखा प्रमुख गुरुङको भनाइ छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक २६, २०८२  २२:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update