Harsamaya
रामेछापमा स्रोत नखुलेको १५ लाख नगद सहित चार जना प्रहरी नियन्त्रणमा
रामेछापमा स्रोत नखुलेको १५ लाख नगद सहित चार जना प्रहरी नियन्त्रणमा ।

रामेछाप - सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–२, झनझने चेकपोस्ट प्रहरीले स्रोत नखुलेको रकमसहित चार जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा परेकामध्ये एक जना चिनियाँ नागरिक पनि रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार मङ्गलवार दिउँसो करिब २ः१० बजे मदन भण्डारी राजमार्ग हुँदै काठमाडौँतर्फ जाँदै गरेको बा.प्र.०१–०३१ च ५८०४ नम्बरको किया कम्पनीको सानो कार नियमित जाँचका प्रहरी चौकी झनझनेका वरिष्ठ प्रहरी नायव निरीक्षकको कमाण्डमा खटिएको टोलीले गाडीको पछाडिको टायरभित्र लुकाइराखिएको नगद फेला पारेको जनाएको छ ।

उक्त गाडीका चालक काठमाडौं महानगरपालिका–३१ का २५ वर्षीय आदिल हमिद रहेका छन् । उनीसँगै सोही गाडीमा बस्ने २१ वर्षीय आमी अमिद, रौतहट गुजरा नगरपालिका–२ का ७३ वर्षीय चन्द्रमान योञ्जन, र करिब ३२ वर्षीय चिनियाँ नागरिक सियोङ च्याङगे  समेत सवार रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरूलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय कपिला कोट हुँदै जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा ल्याएको जनाएको छ ।

बरामद गरिएको करिब १५ लाख रुपैयाँ नगदको स्रोतबारे सोधपुछ सुरु गरिएको प्रहरीले जनाएको छ । सो रकम कसको हो, किन र कहाँ लैजाँदै गरिएको हो भन्नेबारे अहिलेसम्म स्पष्ट खुल्न सकेको छैन ।

प्रहरीले उक्त रकमसँग सम्बन्धित बैङ्किङ विवरण, कारोबार अभिलेख तथा अन्य कागजातहरूको विवरण माग गरेको जनाएको छ । प्रारम्भिक अनुसन्धान अनुसार रकम काठमाडौँतर्फ लैजाँदै गरिएको भए पनि यसको उद्देश्य र स्वामित्वबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीकाका प्रवक्ता प्रहरी नायव उपरीक्षक सूर्यप्रकाश सुवेदीका अनुसार स्रोत नखुलेको ठूला रकमसम्बन्धी प्रकरणमा हाल आर्थिक अपराध महाशाखासँग पनि समन्वय भइरहेको छ । ‘आवश्यक प्रमाण सङ्कलनपछि कानुनी प्रक्रिया अघि बढाइनेछ,’ डिएसपी सुवेदीले बताए ।

प्रकाशित मिति: बुधबार, कात्तिक २६, २०८२  १२:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update