सुर्खेत - प्रहरी हिरासतमा मृत्यु भएका गंगे सुनारका आफन्तले पाँच दिनपछि उनको शव बुझेका छन् । मृतक सुनारको पोस्टमार्टम रिपोर्ट आएपछि आफन्तले शव बुझेका हुन् ।
वीरेन्द्रनगर नगरपालिका– ११ पिपिराका गंगे सुनारको गत शुक्रबार प्रहरी हिरासतमा मृत्यु भएको थियो । ३६ वर्षीय सुनारको हृदयाघातबाट मृत्यु भएको प्रारम्भिक रिपोर्ट आएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी डिएसपी मोहनजंग बुढथापाले बताए ।
मृतकको पोस्टमार्टमको लागि भेरी अस्पताल नेपालगन्जबाट फरेन्सिक विज्ञ डाक्टर अर्विन शाक्यको टिम सुर्खेत आएको थियो । मुटुको समस्याले थुनुवाको मृत्यु भएको देखिन्छ ।
मुटुको नली ब्लक भएको रिपोर्टमा देखिएको पोस्टमार्टममा संलग्न चिकित्सकले बताए । लागु औषध कारोबारको मुद्दामा थुनामा रहेका सुनारको शुक्रबार बिहान मृत्यु भएको थियो ।
शुक्रबार बिहान बेहोस अवस्थामा फेला परेपछि तत्काल उपचारका लागि कर्णाली प्रदेश अस्पताल पुर्याइएपछि चिकित्सकले मृत घोषणा गरेका थिए । प्रहरीका अनुसार मृतक सुनार हिरासतमा ७८ दिनदेखि रहेका थिए ।

