 
                                                            मियामी - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायती प्रधानमन्त्री केइर स्टार्मरले ‘निकै राम्रो काम’ गरेको बताएका छन् । उनले आगामी २४ घण्टाभित्र दुई नेताबीच भेटवार्ता हुने पनि बताए ।
“मलाई लाग्छ उहाँले अहिलेसम्म निकै राम्रो काम गर्नुभएको छ”, राष्ट्रपति ट्रम्पले एयर फोर्स वानमा पत्रकारसँग भने, “म उहाँलाई धेरै मन पराउँछु।”
ट्रम्पका निकट सहयोगी तथा विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कले हालै गरेको निर्मम मौखिक आक्रमणको सिकार बनेपछि स्टार्मरबारे ट्रम्पको यो टिप्पणी आएको हो ।
ट्रम्प प्रशासनको ‘सरकारी कार्यदक्षता विभाग’ नामक नवगठित निकायको प्रमुखमा नियुक्त मस्कले यसै महिना आफ्नो सामाजिक सञ्जाल एक्सको प्रयोग गर्दै बेलायती प्रधानमन्त्री स्टार्मरविरुद्ध गरेका पोष्ट र राष्ट्रपति ट्रम्पको बेलायती सरकारसँगको सम्बन्धबारे सोधिएको प्रश्नमा उनले पत्रकारसँग भने, “म स्टार्मरको दर्शनसँग सहमत नहुन सक्छु तर उहाँसँग मेरो राम्रो सम्बन्ध छ ।”
ट्रम्पले भने, “उहाँ उदार हुनुहुन्छ, जुन मेरो लागि अलि फरक छ, तर मलाई लाग्छ उहाँ धेरै राम्रो व्यक्ति हुनुहुन्छ।”
राष्ट्रपति ट्रम्पले भने, “उहाँ र मेरो आगामी २४ घण्टामा फोनवार्ता हुँदैछ।”
गत जुलाईमा निर्वाचित भएको बेलायतको नयाँ लेबर सरकारले ट्रम्पको टोलीसँग सहकार्यका लागि महिनौँदेखि प्रयास गरिरहेको छ ।


 
                                                 
                                                 
                                                 
                                                 
                     
                     
                     
                     
                     
                    -1761640064.jpg)