बागलुङ - बागलुङको ढोरपाटनमा पिकअप जिप दुर्घटनामा परी मृत्यु र घाइते हुनेको पहिचान खुलेको छ ।
शुक्रबार राति १० बजे बुर्तिबाङदेखि ढोरपाटन जाँदै गरेको ग३च ३८१९ नम्बरको पिकअप ढोरपाटन नगरपालिकाङ–८ र ९ को सिमाना च्वावीरमा दुर्घटना हुँदा ढोरपाटन नगरपालिका–७ का २३ वर्षीय राजेन्द्र अदैको मृत्यु भएको हो ।
दुर्घटनामा ढोरपाटन नगरपालिका–९ का गाडी चालक २७ वर्षीय दिलबहादुर विक र वडा नं ७ का २४ वर्षीय वसन्त अदै घाइते भएको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख प्रहरी निरीक्षक तिलक मानन्धरले जानकारी दिए । घाइते चालक विकको बुर्तिवाङ अस्पतालमा उपचार भइरहेको र घाइते अदै घर फर्किएको उनको भनाइ छ ।
पिकअप बुर्तिवाङ–ढोरपाटन सडकबाट करिब ६० मिटर तल भुजीखोलामा खसेको प्रहरी निरीक्षक मानन्धरले जानकारी दिए ।
उनले भने, ‘अहिले दुर्घटनामा परेका सबैको पहिचान खुल्यो, रातिमा दुर्घटना भएको हुँदा हामी उद्धार गरेर अस्पताल पठाउनतर्फ लाग्यौँ, दुर्घटना भएको केही समयमै खबर पायौँ र उद्धार पनि समयमै भयो, तर एक जनाको घटनास्थलमै मृत्यु भयो, घाइतेमध्ये एक जना घर फर्किसक्नुभयो भने चालक उपचाररत हुनुहुन्छ ।’

