काठमाडौं - नोभेम्बर ८ तारिक विश्व रेडियोग्राफी दिवस । हरेक वर्ष विश्व रेडियोग्राफी दिवस मनाइदै आएको छ । विलहेल्म रोईन्टेनले सन् १८९५ मा आजकै दिन रेडियोग्राफीको आविष्कार गरेका हुन् ।
हरेक वर्ष झैं यो वर्ष पनि ‘सीइङ द अनसिन’ भन्ने थिमकासाथ नेपालमा पनि विश्व रेडियोग्राफी दिवस मनाउन लागेको रेडियोलोजिस्ट डा. विष्णु सिक्देलले बताए ।
हर समयसँगको कुराकानीमा उनले ‘सीइङ द अनसिन’ थिम जसको अर्थ जुन कुरा सामान्य आँखाले देखिँदैन, त्यो कुराहरू हामी रेडिएसनको माध्यमबाट, एक्स रेजहरू अथवा अरू कुनै रेजहरू प्रयोग गरेर देखिन्छ भन्ने रहेको बताए
त्यस्तै उनले रेडिओलोजिस्ट, रेडियोग्राफरहरू र टेक्नोलोजिस्टहरू नेपालमा एकदमै कम रहेको बताए । स्कोप भएपनि प्राय यो फिल्डबाट जनशक्ति पलायन हुने अवस्था देखिएको भन्दै उनले रेडियोलोजिस्टरुको मनोबल बढाइ स्वदेशमा अवसर दिनुपर्ने धारणा राखे ।
मुख्य थिम ‘सीइङ द अनसिन’
‘सीइङ द अनसिन’ भन्ने थिमको साथ दिवस मनाउँदै छौं । यसको अर्थ जुन कुरा सामान्य आँखाले देखिँदैन, त्यो रेडिएसन थ्रु, एक्स रेजहरू अथवा अरू कुनै रेजहरू प्रयोग गरेर देख्छौँ । त्यसलाई नै एउटा थिम बनाएर यस वर्ष रेडियो ग्राफिक डे मनाइरहेका छौं । कुनै सोर्सबाट हामी रेडिएसन निकाल्छौं, त्यो सोर्सको अगाडिपट्टि हामी मान्छेको शरीर राख्छौँ । अनि हामीले त्यो ठाउँबाट रेजलाई पास गर्छौं । पास गरेपछि मान्छेको शरीरमा रेज ठोकिन्छ । रेजहरूलाई क्याप्चर गर्ने खालको प्लेट त्यहाँ राखिएको हुन्छ । रेज फालेपछि हाम्रो शरीरमा त्यो रेज ठोकिन्छ, ठोक्किएपछि त्यसले छायाँ (स्याडो) बनाउँछ । सो छाँया बनेको रूपलाई एक्स रे भनेर फिल्मको रूपमा डेभलप गर्छौं । त्यसले शरीरको कुन चाहिँ अंगमा कति एक्स रेज ठोक्कियो र कति एक्स रेज पास भएर गयो भनेर इमेजहरू बनाउँछौँ । सोही आधारमा बनेका इमेजहरूलाई इन्टरप्रेट गर्छौँ । त्यसबाट समस्या पत्ता लगाउँछौं ।
रेडियोलोजी जनशक्तिको सवाल
रेडिएसनसँग अथवा रेडियोलोजीसँग सम्बन्धित जनशक्ति विभिन्न तहमा विभाजन गरिएको हुन्छ । हाम्रा कामहरू दुई–तीन तहमा हुन्छ । पहिले इमेजहरू लिने, इमेजलाई प्रोसेस गर्ने, कम्प्युटरमा ट्रान्सफर गर्ने अनि त्यसलाई इन्टरप्रेट गर्ने काम हुन्छ । यस्ता कामहरु गर्नका लागि नेपालमा रेडियोग्राफर र रेडियोलोजिस्टहरु हुनुहुन्छ । इमेज क्याप्चर गरेर कम्प्युटरसम्म पुर्याउने र त्यो इमेजहरूलाई इन्टरप्रेट गर्ने काम रेडियोलोजिस्टहरूले गर्नुहुन्छ । देखिएको समस्याहरुको पहिचान रेडियोलोजिस्टले गर्नुहुन्छ । रेडियोग्राफरहरू, रेडियोलोजिस्ट टेक्नोलोजिस्ट अनि रेडियोलोजिस्टहरू नेपालमा सक्रिय हुनुहुन्छ ।
जनशक्तिको अभाव र सेवा
अहिले नेपालमा रेडियोलोजिस्टको संख्या तीनदेखि पाँच सयको हाराहारीमा होला । रेडियोलोजिस्टहरू एकदमै कम छन् । रेडिओलोजिस्ट मात्र होइन, रेडियोग्राफरहरूको पनि संख्या कम छ । स्कोप राम्रो भएपनि जनशक्ति कम छ । तर फिल्डबाट जनशक्ति पलायन हुने अवस्था देखिएको छ । पारिश्रमिक न्यून भएका कारण जनशक्ति टिक्न सकिरहेको छैन् । यसको मुख्य कारण भनेको पारिश्रमिक नै हो । उहाँहरूले यहाँ कमाएको भन्दा बाहिर धेरै कमाउनुहुन्छ । त्यति नै मेहेनत गरेर यहाँ किन बस्ने भन्ने हुन्छ । त्यही भएर पनि प्राय बाहिर पलायन भएको अवस्था छ ।
रेडियसनको मात्रै कुरा गर्दा यसबाट एक्स–रे साथै त्यही रेडियसनहरू युज गरेर सिटी स्क्यान पनि प्रयोग गर्न सक्छौं । अर्को रेडियसन भनेको क्यान्सरको ट्रिटमेन्ट, थेरापीमा प्रयोग गर्न सक्छौं । किनभने एक्स–रे मेसिनहरू पनि त्यति महँगो पनि हुँदैन र एक्स– इन्टरप्रेट गर्न रेडियोलोजी नै चाहिन्छ भन्ने छैन । मेडिकल अफिसरहरू साथै अरु कन्सल्टेन्टहरूले ओभरभ्यु गर्न सक्नुहुन्छ । त्यसैले ग्रामीण भेगमा पनि एउटा एक्स–रे मेसिन पुरÞ्याउन सक्यौँ भने पनि, धेरै इमर्जेन्सी कन्डिसनहरूलाई पत्ता लगाउन सक्छौँ ।
एक्स–रे र सिटी स्क्यानको असर
एक्स रे आफैँमा एउटा हानिकारक हो । एक्स–रेले शरीरलाई असर गर्छ । तर कति मात्रामा त्यसलाई प्रयोग गर्ने भन्ने कुरा महत्वपूर्ण हुन्छ । एकदुई पटकले फरक पर्दैन् । हरेक पटक एक्सपोजर गरियो भने शरीरका हेल्दी कोषहरूलाई असर गर्ने संभावना छ । त्यसले पछि क्यान्सरहरू जस्तो समस्याहरू आउन सक्ने सम्भावनाहरू हुन्छ । गर्भवती अवस्थामा एक्स–रेजहरू नगर्ने, रेडियसन भएको वरिपरि नजाने भन्ने गर्छौ । किनभने, एक्स–रेले पेटमा भएको बच्चालाई असर गर्नसक्छ । बच्चाको सेल्सहरूमा असर पार्न सक्छ । सिटी स्क्यान धेरै गर्दा घातक हुनसक्छ । सिटी स्क्यान धेरै गर्नु हुँदैन। एक्स–रे पनि खास त्यति धेरै गर्नु हुँदैन ।
बच्चाहरूमा एक्स–रेहरूको एक्सपोजर त्यति धेरै दिनु हुँदैन । किनभने बच्चाहरूको सेल्सहरू राम्रोसँग डेभलप भइसकेको हुँदैन । एज बढ्दै गएपछि केही फरक पर्दैन । जति एज बढ्दै जान्छ, त्यति हाम्रो शरीरको असर कम गर्छ । सकेसम्म बच्चाहरूमा यसको प्रयोग कम गर्नुपर्छ ।
रेडियोलोजीमार्फत उपचार पनि गरिन्छ
रेडियोलोजीको काम एउटा टिमवर्कमा हुन्छ । एक्स–रेको ठाउँमा अल्ट्रासाउन्डहरू र एमआरआई पनि हुन्छ । यस्तो प्रविधिले रोग पत्ता लगाउने मात्र नभइ क्यान्सरको सेल मार्ने, शरीरमा भएको टिस्युहरुको वायस्पी लिन सकिन्छ । मासुहरुको जाँच गर्न सकिन्छ । शरीरमा भएको पानी निकाल्न सकिन्छ । मासु पलाएको छ भने त्यसको टिस्युहरु निकालेर तथ्य पत्ता लगाउन सकिन्छ । शरीर नचिरि वा नकाटी सानो प्वाँल पारेर, अल्ट्रासाउन्ड अथवा सिटी स्क्यानको मद्दतले उपचारहरु गर्न सकिन्छ ।
गैरकानुनी काम बन्द हुनुपर्छ
यस्तो प्रविधिबाट पेटमा भएको बच्चाको जेन्डर छुटाउने काम पनि गरिन्छ । त्यसलाई रोक्नको लागि कानुनी प्रक्रिया गर्नुपर्छ । जेन्डरको कुरा कानूनन त दण्डनीय हो । हाम्रो समाजमा छोरा र छोरी बीचको जुन भेदभाव त्यसलाई कन्ट्रोल गर्न गार्हो छ । रेडियोलोजीस्टहरुले पनि सकेसम्म अथवा कुनैपनि हालतमा भ्रुणहरुको कुरामा सचेत बन्नुपर्छ । कानूनी अपराध गर्नु ठिक हुँदैन् । पेटमा भएको बच्चालाई उसकै लैंगिकताको आधारमा हत्या गर्नु भनेको एक प्रकारको यो अमानवीय काम पनि हो । यस्तो कामलाई निरुत्साहित गर्नुपर्छ । एकदम कडाभन्दा कडा कानून पनि बनाउनुपर्छ । समाजमा हामीले के गर्नुपर्छ भने छोरा–छोरी भनेको बराबर हो चेतना फैलाउन आवश्यक छ ।
वल्र्ड रेडियोग्राफी डे को अवसरमा सम्पूर्ण रेडियोग्राफर, रेडियोलोजिस्ट, टेक्नोलोजिस्ट र रेडिएसनसँग सम्बन्धित क्षेत्रमा काम गर्नेहरुले सचेत रहन आग्रह पनि गर्दछु । नयाँ नयाँ प्रविधिको प्रयोग गरेर आम नागरिकलाई सेवा दिन सकौं भन्न पनि चाहन्छु । - प्रमिला कार्की

