Harsamaya
वैदेशिक रोजगारमा जाने कामदारले जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय ।

काठमाडौं - श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण सरकारी मान्यता प्राप्त जुनसुकै अस्पतालबाट परीक्षण गर्न पाउने व्यवस्था गरेको छ । 

मन्त्री दिपककुमार साहको नेतृत्वमा आज बसेको मन्त्रिस्तरीय बैठकले वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न चाहने स्वास्थ्य संस्थाका लागि सूचीकरण खुला गर्ने र स्वास्थ्य संस्था सूचीकरण, नवीकरण तथा अनुगमनसम्बन्धी कार्यविधि, २०७२ को दफा ३ को व्यवस्थाबमोजिम आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय पनि गरेको छ ।  

नेपाल मेडिकल व्यवसायी संघका महासचिव कृष्णप्रसाद  बजगाईंले सरकारले कार्यविधिमा भएको व्यवस्था लागू गराउनु सकारात्मक देखिए पनि निजी क्षेत्रका स्वास्थ्य संस्था र व्यवसायीलाई व्यवस्थापन गर्नुपर्ने बताए । 

श्रम तथा रोजगार मन्त्रालयको मापदण्डअनुसार हाल १९४ वटा स्वास्थ्य संस्थाले नवीकरण गरेका छन् । यिनै संस्थामार्फत वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण हुँदै आएको थियो ।
 

प्रकाशित मिति: मंगलबार, चैत १७, २०८२  १७:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update