सिन्धुपाल्चोक - नेपाली कांग्रेस भित्रै अन्तर्घातको विषयले नयाँ विवाद चर्किएको छ। प्रतिनिधिसभा निर्वाचन २०८२ मा आफ्नै उम्मेदवारलाई हराउन भूमिका खेलेको आरोपमा पूर्वकेन्द्रीय सदस्य मोहनबहादुर बस्नेत सहित ११ जना नेता कारबाहीको घेरामा परेका छन्।
जिल्ला सभापति तथा उम्मेदवार जंगबहादुर लामाले केन्द्रीय अनुशासन आयोगमा कारबाही सिफारिस पठाएसँगै पार्टीभित्रको आन्तरिक असन्तुष्टि सतहमा आएको हो।
सिफारिसमा बाह्रबिसेका मेयर बालकृष्ण बस्नेत, प्रदेश सांसद मसिना खड्का भण्डारी, पूर्व गाउँपालिका अध्यक्ष श्रवणकुमार जिसीलगायत प्रभावशाली नेताहरू समेटिएका छन्।
जिल्ला नेतृत्वले भने निर्वाचनमा देखिएको ‘अन्तर्घात’ र असहयोगका घटनालाई नियन्त्रण गर्न यो कदम चालिएको जनाएको छ। तर, यसले कांग्रेसभित्र गुटगत विवाद र नेतृत्वप्रति असन्तुष्टि अझ सतहमा ल्याएको आकलन गरिएको छ।
क्षेत्र नम्बर १ बाट सुरु भएको कारबाही प्रक्रिया चाँडै क्षेत्र नम्बर २ मा पनि विस्तार हुने तयारीले जिल्लाभित्रको आन्तरिक राजनीतिमा थप तरंग ल्याउने देखिन्छ।
अब केन्द्रीय तहबाट हुने निर्णयले कांग्रेसभित्र अनुशासन कायम गर्ने कि थप विवाद निम्त्याउने भन्नेमा सबैको ध्यान केन्द्रित भएको छ।

