काठमाडौं - आगामी चैत २३ र २४ गते हुने नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) बागमती प्रदेशको नवौँ अधिवेशनका लागि सिन्धुपाल्चोकका व्यवसायी वेद बहादुर श्रेष्ठले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको समर्थनमा उनले बागमती प्रदेश अध्यक्ष पदमा उम्मेदवारी दिनेछन् । चैत्र १६ मा उम्मेदवारी दर्ता हुनेछ ।
उनले बागमती प्रदेशभित्रका जिल्ला/नगर, वस्तुगत तथा एसोसिएसन तर्फका सम्पूर्ण सदस्यहरूबाट साथ, सहयोग तथा मतको अपेक्षा गरेका छन् । प्रदेशको कार्यालय भवन निर्माण गर्ने उनको प्रमुख एजेन्डा छ । त्यो बाहेक उद्योगी व्यवसायीको हितका लागि विशेष योजना उनले सार्वजनिक गर्नेछन् ।
उनको उद्योग वाणिज्य महासंघको सङ्गठनात्मक यात्रा २०५८ सालमा साधारण सदस्यबाट सुरु भएको हो । २०६१ सालदेखि निरन्तर सक्रिय रहँदै उनले सिन्धुपाल्चोक उद्योग वाणिज्य संघमा दुई कार्यकाल सदस्य, त्यसपछि कोषाध्यक्ष, उपाध्यक्ष हुँदै अध्यक्षको जिम्मेवारी सम्हालेका छन् । हाल उनी बागमती भूगोलको प्रतिनिधित्व गर्दै महासंघको केन्द्रीय सदस्यका रूपमा कार्यरत छन् ।
उद्योग वाणिज्य महासंघको हालका वरिष्ठ उपाध्यक्ष तथा आगामी अध्यक्ष अन्जन श्रेष्ठ नेतृत्वको समूहबाट उनले बागमती प्रदेश अध्यक्ष पदमा उम्मेदवारी दर्ता गर्दै छन् । साथै, उनले ट्रक कन्टेनर व्यवसायी संघको कोषाध्यक्षको रूपमा समेत भूमिका निर्वाह गरेका छन् ।
सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको अध्यक्ष हुँदा उनले निर्वाह गरेको भूमिका पनि मूल्यांकन पनि उच्च छ । कोरोनाकाको समयमा उद्योगी व्यवसायीको पीडामा उनले गरेको साथ र सहयोगले निक्कै प्रशंसा पाएका थिए ।
व्यवसायिक क्षेत्रसँगै विभिन्न सामाजिक संस्थाहरूमा सक्रिय उनी खेलकुद क्षेत्रमा पनि उत्तिकै संलग्न रहेका छन् । भलिबल खेलाडीका रूपमा पहिचान बनाएका उनले जिल्लामा फुटबल खेलको विकासमा समेत योगदान पुर्याएका छन् ।

