Harsamaya
काठमाडौँ प्रज्ञा कुञ्जमा नाटक सप्ताह सुरु
“नाटक सप्ताह” मा सहभागी कलाकारहरू ।

काठमाडौं - प्रज्ञा कुञ्ज विद्यालयले सन् २०१३ देखि निरन्तर सञ्चालन गर्दै आएको “नाटक सप्ताह” कार्यक्रम आइतबारबाट भव्य रूपमा सुरु भएको छ। विद्यार्थी, शिक्षक तथा अतिथिहरूको उत्साहजनक उपस्थितिमा उद्घाटन समारोह सम्पन्न भएको हो।

उद्घाटन कार्यक्रममा प्रमुख अतिथिका रूपमा वरिष्ठ कलाकार रबी गिरी र सरोज खनाल सहभागी भएका थिए। रंगमञ्च, टेलिभिजन र चलचित्र क्षेत्रमा लामो समय योगदान दिएका उनीहरूको उपस्थितिले कार्यक्रममा विशेष ऊर्जा थपिएको थियो।

कार्यक्रमको पहिलो दिन कक्षा ३ का विद्यार्थीहरूले “दुःखी राजकुमारी”, “सोफिया र काले” र “फूलको भाषा” शीर्षकका नाटक प्रस्तुत गरेका थिए। बालबालिकाको प्रस्तुति आत्मविश्वासपूर्ण, सिर्जनशील र प्रभावकारी रहेको आयोजकले जनाएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै सरोज खनालले “सोफिया र काले” नाटकले आफूलाई भावुक बनाएको उल्लेख गर्दै बालबालिकालाई आफ्ना सपना पछ्याउन प्रोत्साहन गर्नुपर्ने बताए। त्यसैगरी रबी गिरीले विद्यालयले यस्ता गतिविधिमार्फत सिर्जनशीलता र सहकार्यको विकास गरिरहेको भन्दै प्रशंसा गरे।

नाटक सप्ताहअन्तर्गत कक्षा ३ देखि ९ सम्मका विद्यार्थीहरूले कुल १७ वटा नाटक प्रस्तुत गर्नेछन्। कार्यक्रममा रंगमञ्चसँग आबद्ध अभिभावक टंका चौलागाईं र कल्पना थापालाई सम्मानसमेत गरिएको थियो।

उद्घाटन समारोहमा विद्यालय सञ्चालक समितिकी अध्यक्ष सम्झना खरेल, इन्जिनियर्स विदाउट बोर्डर्सका अध्यक्ष कपिलदेव रेग्मी, बोर्ड सदस्य सपना खरेल तथा काञ्जिरोवा नेशनल स्कुलका प्राचार्य रञ्जित थापा लगायतको उपस्थिति रहेको थियो।

नेपाल फिल्म क्याम्पसको थिएटर हलमा सञ्चालन भइरहेको नाटक सप्ताह चैत २० गते समापन हुने जनाइएको छ। यस कार्यक्रमले विद्यार्थीहरूको सिर्जनात्मकता अभिव्यक्त गर्न, आत्मविश्वास बढाउन र रंगमञ्चीय अनुभव हासिल गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

प्रकाशित मिति: सोमबार, चैत १६, २०८२  १०:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update