कञ्चनपुर - कञ्चनपुरको वेदकोट नगरपालिका–८ आमथलास्थित भित्री सडकखण्डमा आज दिउँसो भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छभने एक जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सागर बोहरा अनुसार दुर्घटनामा वेदकोट नगरपालिका–७ सुडाका ३१ वर्षीय शिव रानाको मृत्यु भएको हो । राना आफैँले चलाएको म२प ८४०२ नम्बरको मोटरसाइकल भारत विहार निवासी अवधेशकुमार महतोले चलाएको मसला बनाउने आर्गो मिक्सचर मेसिनसँग ठोक्किँदा राना गम्भीर घाइते भएका थिए ।
उपचारका लागि महाकाली प्रादेशिक अस्पतालमा लगिएकामा उपचारकै क्रममा दिउँसो रानाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक बोहराले जानकारी दिए ।
उक्त दुर्घटनामा मोटरसाइकलका पछाडि सवार ३० वर्षीय भीम राना घाइते भएका छन् । उनको हाल महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

