स्याङ्जा - स्याङ्जा र पाल्पाको सङ्गमस्थल रामनदीधाम राम्दीस्थित कालीगण्डकी नदीमा एक किशोर सातादेखि बेपत्ता छन् ।
गत बुधबार स्याङ्जाको गल्याङ नगरपालिका–१ राम्दीमा पौडी खेल्ने क्रममा कालीगण्डकीमा बेपत्ता भएका कैलालीको लम्कीचुहा नगरपालिका–१ घर भएका १५ वर्षीय बखत शाही बेपत्ता भएका थिए । उनको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक प्रसन्नराज चौधरीले जानकारी दिए ।
कैलालीबाट साथीहरुसँगै पोखरा भ्रमणमा आएका शाही र सोही ठाउँका १६ वर्षीय बिराज न्यौपाने पौडी खेल्न कालीगण्डकी नदीमा पसेका थिए । पौडी खेल्ने क्रममा दुवै जनालाई नदीले बगाएको थियो । बग्दै गरेको अवस्थामा न्यौपानेलाई सकुशल उद्धार गरिएको थियो ।
बुधबार बिहानदेखि कालीगण्डकी नदीमा बेपत्ता भएका शाहीको सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन समूह स्याङ्जा, नेपाल प्रहरी तथा आफन्तजनको सक्रियतामा खोजी कार्यलाई तीव्रता दिइएको प्रहरी नायव उपरीक्षक चौधरीले जानकारी दिए । सशस्त्र प्रहरी बलको तालिम प्राप्त समूहले ‘ र्याफ्टिङ बोट’को सहायताले घटनास्थल तथा त्यसभन्दा तलका स्थानमा खोजी गरिरहेको छ ।

