काठमाडौं - नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दै छ ।
विवादका बिच आइतबार स्थगन भएको केन्द्रीय समिति बैठक आज बस्न लागेको हो । पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक दिउँसो १ बजे पार्टी मुख्य कार्यालय सानेपामा बस्ने छ । त्यसअघि शुक्रबार बस्ने बैठक पनि अन्तिम समयमा विज्ञप्ति जारी गर्दै आइतबार सम्म लाई स्थगन गरिएको थियो ।
कांग्रेसभित्र १५ औँ महाधिवेशनको विवाद छ । खास गरी मङ्सिर भित्र नियमित महाधिवेशन गर्न सकिने र नसकिने दुई पक्षबिच विवादको असर केन्द्रीय समितिमा पर्दै आएको हो ।
पार्टीमा संस्थापन पक्ष मंसिरमा १५ औँ महाधिवेशन गर्न नसकिने भन्दै चुनाव पश्चात् अर्थात् वैशाखमा महाधिवेशन गर्नुपर्ने पक्षमा छ । यता महामन्त्रीद्वयले नेतृत्व गरेको समूह भने जुनसुकै हालतमा मंसिर अन्तिममा नियमित महाधिवेशन गर्नुपर्ने नभए पुषमा विशेष महाधिवेशन गर्नुपर्ने पक्षमा छन् । जसका लागि ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेर बुझाएका पनि छन् ।
अहिले कांग्रेसमा महाधिवेशनको कार्यतालिका कहिलेका लागि ल्याउने भन्ने विवाद छ । सोही विवाद समाधान गर्नका लागि केन्द्रीय समिति बैठक सारेर सहमतिको प्रयास गरे पनि हालसम्म समाधान हुन सकेको छैन ।

