काठमाडौं - मेडिकल व्यवसायी दुर्गा प्रसाईँले वर्तमान प्रधानमन्त्री शुसिला कार्कीले जेनजीहरुसँगको वार्तामा पूरै समय खेर फालिरहेको टिप्प्णी गरेका छन् ।
बुधबार मानव अधिकार आयोगका अध्यक्षसँगको वार्तापछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले पाँच हजार जेनजीहरु अहिले मन्त्री बन्ने लाइनमा रहेको भन्दै जेनजीसँग वार्ता मिलाउँदा मिलाउँदै प्रधानमन्त्रीको टाईमपास भइरहेको बताए ।
उनले भने, ‘अहिलेको सरकारको हालत के छ थाहा छ । पाँच हजार जेनजीहरु अहिले मन्त्री बन्न लाइनमा छन् । जेनजीसँग वार्ता मिलाउँदा मिलाउँदै अहिले प्रधानमन्त्रीको टाईमपास भइरहेको छ । बसेर उठ्न नसक्ने हालत प्रधानमन्त्रीको छ ।’
त्यस्तै उनले बालेन साहले अहिले दुर्गा प्रसाईलाई पक्राउ गर्नुपर्छ भन्दै हिँडेको भन्दै एक दिन जोगाइदिनुपर्यो भनेर बालेन आफ्नो शरणमा आउने दाबी गरे ।
‘बालेन साहले अहिले दुर्गा प्रसाईलाई खेद्दै हुनुहुन्छ, पक्राउ गर्नुपर्यो भन्दै हुनुहुन्छ । यो बालेनको मात्र देश हो ? हाम्रो होइन ? जे पनि राम्रो कुरा बालेनले घरबाट ल्याएर बनाएको भन्ने खालको नारा फिजाउँदै हिँडेका छन् । बालेनपनि एकदिन मेरो घरमा आउनुपर्छ मलाई जोगाइदिनुहोस् भनेर ।’
त्यस्तै, उनले आगामी मंसिर ७ गतेदेखि हुने व्यवस्था परिवर्तनको आन्दोलनमा कुनै किसिमको अराजक गतिविधि नहुने पनि जानकारी दिए ।

