
काठमाडौं - अध्ययनका लागि इजरायल पुगेका कञ्चनपुरका विपिन जोशीको सन् २०२३ अक्टोबरमा हमासले गरेको आक्रमणका क्रममा मृत्यु भएकोमा नेपाली कांग्रेसले समवेदनासहित श्रद्धाञ्जली व्यक्त गरेको छ ।
मंगलबार विपिनको महाकाली नदीको भुजेलाघाटमा पार्थिव शरीरलाई राष्ट्रिय सम्मानसहित आज अत्येष्टि गरिएको छ । यससँगै नेपाली कांग्रेसले विपिन जोशीप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेको हो ।
नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विपिन जोशीको मृत्युप्रति गहिरो दुःख व्यक्त गर्दै भने, ‘सन् २०२३ अक्टोबर ७ मा हमासले गरेको आक्रमणको क्रममा बन्धक बनाइएका कञ्चनपुरका विपिन जोशीको सकुशल रिहाइ हुनेछ भन्ने कुरामा नेपाल र नेपाली जनताको ठूलो आशा र विश्वास थियो । तर त्यसको विपरीत गत असोज २७ गते इजरायली अधिकारीहरूले उहाँको मृत्युको पुष्टि गरेपछि उहाँको पार्थिव शरीरलाई नेपाल ल्याई अन्त्येष्टि गरिएको छ । अहिले सिङ्गो मुलुक शोकमा डुबेको छ । दुःखको यस घडीमा विपिन जोशीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । साथै, उहाँको आत्माको चिरशान्तिको कामनाका साथ शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गर्दछु ।’
सुदूरपश्चिम विश्वविद्यालयको ‘लर्न एण्ड अर्न’ कार्यक्रम अन्तर्गत दुई वर्ष अघि अध्ययनका लागि इजरायल पुगेका थिए ।