Harsamaya
चीनको आरोपः अमेरिकाले नेसनल टाइम सर्भिस सेन्टरमा साइबर आक्रमण गर्‍यो 

काठमाडौं - अमेरिकाले आफ्नो नेसनल टाइम सर्भिस सेन्टरमा साइबर आक्रमण गरेको चीनले आरोप लगाएको छ । यस्ता कार्यहरूले देशको सञ्चार सञ्जाल, वित्तीय प्रणाली र विद्युत् आपूर्तिको स्थिरतामा खतरा उत्पन्न गर्नसक्ने चीनले चेतावनी दिएको रोयटर्सले जनाएको छ ।

चिनियाँ सामाजिक सञ्जाल प्लेटफर्म वीच्याटमा आइतबार पोस्ट गरिएको वक्तव्यमा, सरकारी सुरक्षा मन्त्रालयले अमेरिकी राष्ट्रिय सुरक्षा एजेन्सी (एनएसए)ले २०२२ मा टाइम सेन्टरका कर्मचारीहरूको उपकरणबाट संवेदनशील डेटा चोरी गर्नका लागि एउटा अपरिचित विदेशी मोबाइल फोन ब्रान्डको मेसेजिङ सेवाको कमजोरीहरूको फाइदा उठाएको दाबी गरेको छ ।

मन्त्रालयले अमेरिकी एजेन्सीले सेन्टरका धेरै आन्तरिक सञ्जालहरूमा घुसपैठ गर्न ४२ प्रकारका विशेष साइबर आक्रमण हतियारहरू तैनाथ गरेको र २०२३ र २०२४ को बीचमा एक आवश्यक टाइमिङ प्रणालीसँग सम्झौता गर्ने प्रयास गरेको पनि आरोप लगाएको छ ।

चिनियाँ सरकारले आफूसँग प्रमाण रहेको बताएको छ । तर, सामाजिक संजाल पोस्टमा उक्त प्रमाणहरू उपलब्ध गराएको छैन । बक्तव्यमा टाइम सेन्टरले चीनको स्ट्यान्डर्ड समय बनाउने र वितरण गर्ने, साथै सञ्चार, वित्त, विद्युत्, यातायात र रक्षाजस्ता उद्योगहरूलाई टाइमिङ सेवाहरू पनि प्रदान गर्ने भनिएको छ । मन्त्रालयले जोखिमहरूलाई अन्त्य गर्न केन्द्रलाई मार्गनिर्देश गरिएको बताएको छ ।

बेजिङमा रहेको अमेरिकी दूतावासले चीनको आरोपहरूको जवाफ नदिए पनि चीनमा रहेको साइबर अपराधीहरूले व्यापक र महत्वपूर्ण साइबर जासुसी अभियानहरू सञ्चालन गर्न अमेरिका र विश्वभरका प्रमुख दूरसञ्चार प्रदायकहरूको सञ्जालमा घुसपैठ गरेको बताएको छ । - रोयर्टस

प्रकाशित मिति: मंगलबार, कात्तिक ४, २०८२  ०९:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update